हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा संचालन गर्ने
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा संचालन गर्ने भएको छ ।
अस्पतालले बिरामीहरुको चापलाई मध्यनजर गर्दै भदौ १६ गतेबाट उक्त सेवा संचालन गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।
सम्मेलनमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले शनिबारबाहेक हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञसहितको स्वास्थ्य सेवा दिन लागेको जानकारी दिए ।
उनका अनुसार, अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले २४ औं घण्टा टिकट काट्न सकिनेछ । तर, यो सेवामा स्वास्थ्य बिमा भने लागू हुने छैन ।
बिस्तारित बहिरंग सेवाका लागि बिरामीले डाक्टर रोजेर जँचाउन पाउनेछन् । त्यसको लागि अस्पताल प्रशासनले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरुको सूची दिने उनको भनाई छ ।
अस्पतालले जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।
विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएको छ । ल्याब परीक्षण, औषधी शुल्क भने साविककै दरमा प्रदान गरिने अस्पतालका निर्देशक डा.धिरेन्द्र गिरीले जानकारी दिए ।
