भीमफेदी–कुलेखानी सुरुङमार्ग मकवानपुरका जनतालाई ‘आकाशको फल’
मकवानपुर । बागमती प्रदेश सरकारले बर्षेनी बजेट विनियोजन गर्दै आइरहेको भएपनि हेटौंडाबाट संघीय राजनधानी काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सुरुङ्मार्ग निर्माणको कामले गति लिन सकेको छैन । आर्थिक बर्ष २०७५/७६ देखि नै प्रदेश सरकारले उक्त सुरुङमार्ग निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखेर बर्षेनी बजेट विनियोजन गर्दै आइरहेको भएपनि निर्माणको काम भने अघि बढ्न नसकेको हो ।
अघिल्ला आर्थिक बर्षहरुमा झैँ ०७७/७८ मा पनि प्रदेश सरकारले विनियोजन गरेको एक करोड रुपैयाँ फ्रिज हुन पुग्यो । प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले चालु आव ०७८/७९ मा पनि सो आयोजनाको लागि ७५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । एक दशकअघि शिलान्यास गरिएको सो आयोजना अहिले अलपत्र परेको छ ।
जनताको करोडौँ लगानी खै ?
तत्कालिन समयमा पूर्वाधार विकास कम्पनी लिमिटेडले भीमफेदी–कुलेखानी सुरुङ्मार्ग निर्माण गर्न भन्दै मकवानपुरे जनतासंग करोडौँ रुपैयाँ संकलन गरेको थियो । जनताले गोठका भैंसी र कानमा लगाएको सुन बचेर सो आयोजनामा लगानी गरेका थिए । कम्पनीका संचालक कुशकुमार जोशी, सिद्धिलाल श्रेष्ठ र एमाले नेता सुवासचन्द्र ठकुरीले सुरुङ्मार्गलाई देखाएर स्थानीय जनताबाट उठाएको करोडौँ रुपैयाँ कहाँ पुर्याए, त्यसको लेखाजोखा सार्वजनिक गरिएको छैन । कम्पनीले निर्माणको काममा पनि सिन्कोसमेत भाँचेको छैन ।
पूर्वाधार विकास कम्पनी लिमिटेडले संघ सरकारसँग गरेको सम्झौताअनुसार सो सुरुङ्मार्ग मा जनवरी २०१७ देखि नै सवारीसाधन सञ्चालन भइसक्नुथ्र्यो । तर, कम्पनीले एउटा ढिस्को पनि फोरेन । कम्पनीले सुरुङमार्गका लागि सर्वसाधारणसँग संस्थापक सेयरवापत उठाएको करिब ३१ करोड रुपैयाँको लोखाजोखा हालसम्म सार्वजनिक छैन ।
भीमफेदी कुलेखानी सुरुङमार्ग ५८ किलोमिटरको आयोजना हो । चार लेन सडकसहितको डिजाइन तयार पारिएको छ । उक्त सुरुङमार्गबाट हेटौंडादेखि काठमाडौँ पुग्न एक घण्टा मात्रै लाग्ने अनुमान थियो । २०६९ सालमा शिलान्यास भएको सुरुङ निर्माण गर्न सुरुमा ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो । तर, अब यो लागत ६० अर्ब नाघ्नसक्ने अनुमान गरिएको छ ।
पौडेलको बहिर्गमन, ४ बर्षसम्म आश्वासन
बागमती प्रदेश सरकार गठन भएपछि सुरुङमार्ग निर्माणको लागि अग्रसर देखिएको थियो । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि आफ्नै नेतृत्वमा प्रदेश सरकारले सुरुङमार्ग बनाउन चाहेको बताएका थिए । उनले माओवादी नेताको सम्झनामा सुरुङ्को नाम ‘पोष्टबहादुर बोगटी भीमफेदी –कुलेखानी सुरुङ्मार्ग’ परिवर्तन गरी प्रदेश सरकारले नै सो आयोजना निर्माण गर्ने आश्वासन बाँडे ।
निजी क्षेत्रले जनतासंग करोडौँ रुपैयाँ उठाएको थियो, तर प्रदेश सरकारले नै सो आयोजना निर्माणको काम पुरा गर्ने निर्णय गरेपछि जनताको लगानी के हुन्छ भन्नेमा झनै अन्यौलता थपिएको छ । उनको करिब ४ बर्षे कार्यकालमा निर्माणको काममा एउटा इट्टा समेत थपिएन । सपथ ग्रहणका बेला सो सुरुङ्मार्ग निर्माणको कामलाई उच्च प्राथमिकता दिने बताएका पौडेलले सत्ताबाट बर्हिगमन हुन्जेल आश्वासन मात्रै बाँडिरहे ।
बर्षौँ अगाडि सुरुङमार्ग निर्माण गर्ने नाममा सर्वसाधारणले लगानी गरेको पैसासमेत नीजि कम्पनीले डुबाइदिएको छ । यस विषयमासमेत पौडेललाई कुनै चिन्ता देखिएन । न सुरुङमार्ग निर्माणको कार्य सुरु भयो, न त सर्वसाधारणले दुःख जेलो गरेर लगानी गरेको पैसा नै फिर्ता पाए ।
६ सदस्यीय कार्यदल
भीमफेदी– कुलेखानी सुरुङमार्गको विधागत अध्ययनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७७ भदौ १७ गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच भएको छलफल तथा निर्णयअनुसार कार्यदल गठन गरिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सहसचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशका सचिव, नेपाली सेनाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको पूर्वाधारविज्ञ सदस्य रहने गरी कार्यदल गठन भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक समन्वय शाखाले २०७७ भदौ ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशलाई जानकारी दिएको थियो ।

