भीमफेदी– कुलेखानी सुरुङमार्गको विधागत अध्ययनका लागि ६ सदस्यीका कार्यदल गठन
मकवानपुर । भीमफेदी– कुलेखानी सुरुङमार्गको विधागत अध्ययनको लागि बागमती प्रदेश सरकारलाई साथ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
गत भदौ ९ गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच भएको छलफल तथा निर्णयअनुसार कार्यदल गठन गरिएको हो ।
उक्त सुरुङमार्ग बागमती प्रदेशको प्रदेश गौरवको आयोजनामा समेटिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सहसचिव, भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशका सचिव, नेपाली सेनाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको पूर्वाधारविज्ञ सदस्य रहने गरी कार्यदल गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक समन्वय शाखाले भदौ ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशलाई जानकारी दिएको हो ।
हेटौँडा–काठमाडौंको दूरीलाई कम गर्न भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने योजना अघि सारिएको हो ।
३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्गका लागि प्रदेश सरकारले १३ अर्ब प्रारम्भिक लागत अनुमान गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७५/७६ देखि बर्सेनि नीति तथा कार्यक्रमको प्राथमिकतामा राख्ने गरेको छ ।
सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआरसमेत तयार भइसकेको भौतिक पूर्वाधार मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।


