भीमफेदी–कुलेखानी सुरुङमार्गलाई गिजोलेर मुख्यमन्त्री पौडेलको राजनीति चुरियामाइतिर
मकवानपुर । बागमती प्रदेश सरकारले पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणको लागि बर्षेनी बजेट विनियोजन गर्दै आएको भएपनि निर्माणको कामले गति लिन भने सकेको छैन ।
आर्थिक बर्ष २०७५/०७६ देखि नै उक्त सुरुङमार्ग निर्माणको कामलाई प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखी बर्सेनी नीति तथा कार्यक्रममा समावेश गर्दै आएको छ ।
सुरुङमार्गको लागि गत आर्थिक बर्ष ०७७/०७८ मा प्रदेश सरकारले विनियोजन गरेको १ अर्ब रुपैयाँ बजेट पनि निर्माणको काम हुन नसकेपछि फ्रिज भएको थियो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक बर्ष ०७८/७९ को विनियोजित बजेटबारे जानकारी दिने क्रममा उक्त आयोजनाको लागि ७५ करोड रुपैयाँ विनियोजन गरिएको बताएका थिए ।
उनले चालु आर्थिक बर्षबाटै संघीय सरकारको सह–लगानीमा उक्त आयोजना निर्माणको काम सुरु गरिने र पुष्पलाल चक्रपथ अन्तर्गतका सडकहरुलाई समेत प्राथमिकतामा राखी प्रादेशिक सडक आयोजनाहरु कार्यान्वयन गर्न सरकारले १ अर्ब २९ करोड रकम विनियोजन गरेको जानकारी गराएका थिए । तर, उक्त सुरुङमार्ग निर्माणको लागि प्रदेश सरकारले चासो भने देखाएको छैन ।
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्ने आश्वासन बाँडेर निर्वाचित भएका डोरमणि पौडेल अहिले बागमती प्रदेशका मुख्यमन्त्री छन् । तर, पछिल्लो समय केन्द्र सरकारमा राजनीतिक समिकरण बद्लिएसंगै प्रदेश सरकार पनि धरापमा परेको छ । सत्ता टिकाउन दौडधुप गरिरहेका मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले आयोजना निर्माणको कामलाई अगाडि बढाउन नसक्ने विश्लेषण गर्न थालिएको
छ ।
उक्त सुरुङमार्ग (भीमफेदी–कुलेखानी) निर्माणको कामले आफ्नै कार्यकालमा पूर्णता पाउने भन्दै जनतालाई आश्वासन दिएका मुख्यमन्त्री पौडेलले लाजै नमानी चुरियामाई सुरुङमार्ग पुनः निर्माणको लागि शिलान्यास गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा रहेको १०४ बर्ष पुरानो चुरियामाई सुरुङमार्ग पुनःनिर्माणका लागि उनले केही दिन अघि शिलान्यास गरेका थिए । कोरोना संक्रमणको जोखिमका बिचमा शिलान्यास कार्यक्रम पनि तामझामसहित भएको थियो ।
मुख्यमन्त्री भएपछि साढे ३ बर्षसम्म भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको काममा सिन्कोसमेत भाँच्न नसकेका उनले सत्ता नै धरापमा परेको बेला चुरियामाई सुरुङमार्ग पुनः निर्माणको लागि शिलान्यास गर्दै अर्को नाटक मंचन गरेका छन् ।
बर्षौँ अगाडि सुरुङमार्ग निर्माण गर्ने नाममा सर्वसाधारणले लगानी गरेको पैसासमेत नीजि कम्पनीले डुबाइदिएको छ । यस विषयमासमेत मुख्यमन्त्री पौडेललाई कुनै चिन्ता देखिएको छैन । सर्वसाधारणको पैसा फिर्ता गराइदिएर प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्नुपर्नेमा राजनीतिक स्वार्थको लागि ती सबै कुरा बिर्सिएर सुरुङमार्ग बनाउने भन्दै पौडेल कुर्लिएको धेरै बर्ष भइसक्यो ।
न सुरुङमार्ग निर्माणको कार्य सुरु भयो, न त सर्वसाधारणले दुःख जेलो गरेर लगानी गरेको पैसा नै फिर्ता पाए ।
मकवानपुरवासीले मुख्यमन्त्री पौडेललाई प्रश्न गरिरहेका छन्– मुख्यमन्त्रीज्यू सुरुङमार्गको राजनीतिक तुरुप सकिएर हो, चुरियामाइतिर आँखा लगाएको ?
