मुख्यमन्त्री बानियाँको निर्देशन : हेल्मेट नलगाउनेलाई इन्धन नदिन निर्देशन

तु खबर संवाददाता
२०८२ भाद्र ११, बुधबार १७:४८
तस्बिर : मुख्यमन्त्रीको सचिवालय, हेटौंडा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेल्मेट नलगाउनेलाई इन्धन नदिने व्यवस्था गर्न निर्देशन दिएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सुरक्षा निकाय र सरोकारवाला निकायलाई यस्तो निर्देशन दिएको मुख्यमन्त्री बानियाँको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

प्रदेशभित्र दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको मादक पदार्थ तथा लागु पदार्थ सेवन परिक्षण गर्ने, दुई पांग्रे सवारी चालकलाई हेल्मेट अनिवार्य गर्ने र हेल्मेट नलिई इन्धन लिन आएमा इन्धन नदिने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
इन्धनका निम्ति हेल्मेट अनिवार्य लगाउने सम्बन्धी सचेतनामूलक बोर्ड पेट्रोल पम्पहरुले राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री बानियाँले निर्देशन दिएका छन् ।

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव भुपाल बराल, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती, प्रहरी नायब महानिरीक्षक अरुण पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।