एमसीसी परियोजनाको प्रगति बुझ्न उपाध्यक्ष सुमार नेपाल आइन्

तु खबर संवाददाता
२०७८ भाद्र २४, बिहीबार १२:५७

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज बिहान काठमाडौँ आइपुगेकी छिन् ।

नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको बुझिएको छ ।

नेपालमा एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा संसद्मै बहस चलिरहेको बेला उनको आगमनलाई चासोका साथ हेरिएको छ ।

चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।