कांग्रेस केन्द्रीय सदस्य गुरुङद्वारा सभापतिमा उम्मेदवारीको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
केन्द्रीय सदस्य गुरुङले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।
उनले पार्टीलाई विधान अनुसार चलाउने र गुटबन्दी अन्त्य गर्ने उनको प्रतिवद्धता छ । उनले पार्टीका सबै तहमा एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो अर्को एजेण्डा भएको बताए ।
एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनको एजेण्डा छ ।
सभापति पदका लागि यसअघि कांग्रेसका नेता गगन थापाले पनि उम्मेदवारीको घोषणा गरेका थिए ।
