आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशैभर सार्वजनिक विदा
मकवानपुर । आज भगवान कृष्णको जन्मदिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीहरुले भगवान कृष्णको पूजाआराधना गरी यो पर्व मनाउने गरिएको छ ।
द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्ण भगवानको जन्म भएको धार्मिक मान्यताका आधारमा यो पर्व मनाउने गरिएको हो ।
कृष्ण जन्माष्टमीका दिन विशेषगरी महिलाहरुले व्रत तथा राति जाग्राम बसेर श्रीकृष्णको आराधना गर्ने गर्दछन् ।
कृष्ण जन्माष्टमीको दिन कष्ण मन्दिरहरुमा भक्तजनको भिड लाग्ने गरेको भए पनि यसवर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
यस वर्ष नेपाल सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज (सोमबार) देशभर सार्वजनिक विदा दिएको छ । गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यसअघिका वर्षमा भने सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिने विदा कटौती गरेको थियो ।
