संघीय सरकारले प्रदेश प्रमुखलाई नियुक्त गर्ने र हटाउने प्रवृति गलत – प्रसाई

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार १७:१३

मकवानपुर । बागमती प्रदेशको प्रमुखबाट पदमुक्त भएको भोलिपल्ट विष्णुप्रसाद प्रसाईले असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार पदमुक्त भएका प्रसाईले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघीय सरकारले राजनीतिक दल र बैचारिक आस्थाका आधारमा प्रदेश प्रमुखका रुपमा नियुक्त गर्ने र मन लागेको बेला हटाउने प्रवृत्ति गतल भएको बताए ।

उनले वर्तमान सरकार गैरजिम्मेवार ढंगबाट अघि बढेको बताउँदै कांग्रेससहितको गठबन्धनको सरकारले मुलुकमा शान्ति, सु–व्यवस्था र स्थायित्व कायम गर्न नसक्ने आरोप लगाए ।

करिब २१ महिना प्रदेश प्रमुखका रुपमा रहेका प्रसाईले प्रदेश प्रमुख छँदा आफु साँघुरो घेरामा बस्नुपरेको बताउँदै पदमुक्त गरेपनि आफुलाई केही फरक नपरेको दावी
गरे ।

उनले भने ‘ मैले जति अवधिसम्म प्रदेश प्रमुखका रुपमा काम गरे, त्यसबेला प्रदेशवासीप्रति उत्तरदायी भएकै थिएँ, जिम्मेवार भएकै थिएँ । प्रदेशसभा र प्रदेश सरकारसंग मेरो सहकार्य नै थियो । अहिले संघीय सरकारले पदमुक्त गरिदिएको छ । म साँघुरो घेरामा बस्नुपरेको थियो । अब झन फराकिलो भएँ ।’

राष्ट्र र जनताको हितमा अब झन स्वतन्त्र भएर काम गर्न पाइने उनले बताए ।

मन्त्रिपरिषद्को सिफारिसको आधारमा सुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसाईँलाई प्रदेश प्रमुख पदबाट हटाएकी थिइन् ।