प्रदेश प्रमुख परिवर्तनको डरः बागमतीका प्रसाई ओलीलाई भेट्न काठमाडौं पुगे
मकवानपुर । केन्द्र सरकारमा राजनीतिक समिकरण बद्लिएसंगै विभिन्न प्रदेशका प्रमुखहरु पनि संकटमा परेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केही प्रदेशका प्रमुखहरु परिवर्तन गरिसकेको छ भने बाँकी केही प्रदेशका प्रमुखहरुलाई पनि चाँडै परिवर्तन गर्ने तयारी गरेको छ ।
केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई पदमुक्त गरी चितवन निवासी नेकपा माओवादी निकट अमिक शेरचन र गण्डकीका प्रदेश प्रमुख सीता पौडेललाई पदमुक्त गरी चितवनकै कांग्रेस निकट पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छिन् ।
शेरचन यसअघि गण्डकी प्रदेशमा प्रदेश प्रमुख भइसकेका छन् भने गुरुङ कांग्रेसका चितवन जिल्ला सभापति भइसकेका छन् ।
त्यस्तै कांग्रेस नेतृत्वको सरकारले साउन १२ गते प्रदेश नम्वर–२ का प्रदेश प्रमुख पनि परिवर्तन गर्ने चर्चा चलेको थियो ।
प्रदेश नम्वर–२ का प्रदेश प्रमुख डा. राजेश झालाई पदमुक्त गरी माओवादीको कोटाबाट प्रदेश प्रमुख नियुक्त गर्ने चर्चा चलेको थियो । तर, तत्कालको लागि झा को प्रदेश प्रमुख पद भने जोगिएकोे छ ।
उता सुदुरपश्चिम प्रदेश र कर्णालीका प्रदेश प्रमुख पनि परिवर्तन गर्ने देउवा सरकारको तयारी छ ।
राजनीतिक संकट चलिरहेको बागमती र प्रदेश नम्वर–१. मा पनि प्रदेश प्रमुख परिवर्तनको चर्चा चुलिएको छ ।
प्रदेश नम्वर–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) र बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पनि पदमुक्त गरी दुवै प्रदेशमा कांग्रेसको कोटाबाट प्रदेश प्रमुख नियुक्त गर्ने चर्चा चलिरहेको छ ।
चर्चा चुलिएकै बेला बागमतीका प्रदेश प्रमुख प्रसाई भने शुक्रबार बिहानै संघीय राजधानी काठमाडौं हानिएका छन् ।
पद जोगाउन ओलीको शरणमा
बागमतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई शुक्रबार झिसमिसेमै संघीय राजधानी काठमाडौं प्रस्थान गरेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार प्रदेश प्रमुख प्रसाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्न संघीय राजधानी काठमाडौं हानिएका हुन् ।
‘प्रदेश प्रमुखज्यू आज सबेरै काठमाडौं प्रस्थान गर्नुभएको छ, उहाँले आजै अध्यक्षज्यूसंग भेट गर्ने कार्यक्रम तय भएको छ । अध्यक्षज्यूसंगको भेट पछि उहाँ भोलि हेटौंडा फर्कने कुरा छ, समयतालिका फेरबदल भएन भने भोलि हेटौंडा आउनुहुन्छ ।’ स्रोतले तु खबरसंग भन्यो ।
संकटमा परेको प्रदेश प्रमुखको पद जोगाइदिन प्रसाई एमाले अध्यक्ष ओलीलाई भेट्न काठमाडौं पुगेको स्रोत बताउँछ ।
अंकगणितीय रुपमा सुरक्षित मानिएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद पनि यतिबेला संकटमा परेको छ ।
एमालेको स्पष्ट बुहमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पौडेल पार्टीभित्र कै अन्तरविरोधका कारण समस्यामा परेका हुन् ।
उनलाई एमालेकै माधव नेपाल पक्षले एमाले एकता जोगाउने हो भने सरकारको नेतृत्व आफुहरुले गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
प्रदेश प्रमुख प्रसाईको आफुसहित मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार जोगाउने विषयमा ओलीसंग छलफल गर्ने तयारी छ ।
