चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका कारण चार वटा गैंडाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १४:५१
file photo

मकवानपुर । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७७/०७८ मा चोरी शिकारी तथा तस्करीका कारण मृत्य हुने गैंडाको संख्या बढेको जनाएको छ ।

निकुञ्जको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा गैंडको चोरी शिकारीका कारण मुत्यु भएको छ ।

निकुञ्जमा गत आर्थिक वर्षको विभिन्न समयमा कुल ३२ वटा गैंडाको मृत्यु भएको छ । तीमध्ये ४ वटा चोरी शिकारीका कारण मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार, चोरी शिकारीका घटनामा संलग्न रहेको आरोपमा निकुञ्जले २७ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुरुमा गैंडा मृत अवस्थामा फेला पर्ने गरेको र पछि अनुसन्धानमा चोरी शिकारी भएको तथ्य खुल्ने गरेको अधिकारीले बताए ।