२५ वर्षपछि पक्राउ परे गैँडा मार्ने मुद्दाका चार फरार प्रतिवादी

तु खबर संवाददाता
२०८० आश्विन ८,सोमबार १६:११

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्की रहेका छन् । वि.सं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका उनीहरुलाई निकुञ्जले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये हरिलाई विसं २०५७ माघ २५ को फैसलाले रु ५० हजार जरिवाना र सात वर्ष कैद तोकेको थियो भने अन्यलाई रु एक लाख जरिवाना तथा १० वर्ष कैद तोकेको थियो ।

उनीहरुलाई यही असोज ६ र ७ गते पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा विष्णु, गोगनबहादुर तथा यामलाई ६ र ७ गते पक्राउ गरिएको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको सहयोगमा हरीलाई असोज ६ गते पक्राउ गरिएको हो ।

सो घटनमा १७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको थियो । अन्यलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका उनीहरुलाई कारागार कार्यालय भरतपुर पठाइएको जनाइएको छ ।