कोभिसिल्डको पहिलो डोज लगाउनेलाई साउन २५ गतेबाट एस्ट्राजेनका लगाईने
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाउने नागरिकलाई आगामी साउन २५ गतेबाट दोस्रो डोजमा एस्ट्राजेनका खाप लगाउने भएको छ ।
सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएका १३ लाख जेष्ठ नागरिकलाई साउन २५ गतेबाट दोस्रो डोजमा एस्ट्राजेनका खोप लगाउने भएको हो । सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको हो।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई उक्त खोप दिइने भएको हो ।
खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुने महाशाखाका प्रमुख गौतमले जानकारी दिए ।
फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।
