नाराबाजी रोकेर एकता प्रक्रिया अघि बढाउन माधव पक्षको आग्रह

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार १९:१३
file-photo

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई एकता प्रक्रिया अघि बढाउन सुझाव दिएका छन् ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नाराबाजी गर्नुको सट्टा एकता प्रक्रिया अघि बढाउँदा पार्टीको हित हुने बताएका छन् ।

अध्यक्ष केपी ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गरेकोले सबै राजनीतिक दल संविधानको रक्षाको लागि एक ठाउँमा उभिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको उनको भनाई छ ।

आइतबार नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार बसेको थियो ।

बैठकले एकता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको नेता माधव नेपाल पक्षले जानकारी दिएको छ ।

बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउनुका साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’