५ बर्षसम्म मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार कसैले ढाल्न सक्दैन– भौतिकमन्त्री फुयाल

तु खबर संवाददाता
२०७८ श्रावण ६, बुधबार १७:४५
file-photo

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले ५ बर्षे कार्यकाल पुरा गर्ने बताएका छन् ।

बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री फुयालले प्रदेश तहमा राजनीतिक स्थिरता भएको भन्दै सरकार परिवर्तनको कुरा कल्पना पनि गर्न नसकिने बताए ।

उनले प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत भएको र आधिकारिक रुपमा नेकपा एमाले विभाजन नभएकोले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार यथावत रहने दावी गरे ।

केन्द्र सरकारमा नेतृत्व फेरबदल भएकोले प्रदेशमा सरकार परिवर्तनको हल्ला चल्नु स्वभाभिक भएपनि हल्लाको पछि नलागी सरकारको राम्रा गतिविधिमा सहयोग पुर्याउन उनले सबै कर्मचारी, राजनीतिक दल, पत्रकार, नागरिक समाज र आम प्रदेशवासीलाई लाई आह्वान गरे ।
पौडेल नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार, खानेपाली, विजुलीबत्ती, कृषि क्षेत्रलगायतको विकासको कामले तीब्रता पाएको उनको भनाई छ ।

उनले वर्तमान सरकारकै पालामा पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको कामले पूर्णता प्राप्त गर्ने र चुरियामाई सुरुङलाई अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित गरिने बताए ।

‘मुलुक सुरुङ युगमा प्रवेश गरेको छ । यही सरकारकै कार्यकालमा निर्माणाधीन सुरुङलाई पूर्णता दिइनेछ । हामी विद्युतीय बस संचालनको लागि काम गरिरहेका छौँ । प्रदेशमा सरकारी कार्यालयको लागि आफ्नै भवनहरु बन्दैछन् । विद्युतीय प्रणालीबाट राजश्व संकलनको लागि काम गरिरहेका छौँ ।’ उनले भने ।

विद्युतीय बस संचालनको लागि ७ वटा रुटमा १५ वटा चार्जिङ स्टेशन र ३० वटा बस संचालन गरिने उनले बताए ।