मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार संकटमा

तु खबर संवाददाता
२०७८ श्रावण ४,सोमबार १२:४४
file-photo

मकवानपुर । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संकटमा परेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै मुख्यमन्त्री पौडेल नेतृत्वको बागमती सरकारको आयु पनि धरापमा परेको छ ।

एमालेको स्पष्ट बहुमतका कारण अंकगणितीय रुपमा सुरक्षित देखिएका मुख्यमन्त्री पौडेल आफ्नै दल भित्रको अन्तरविरोधका कारण पनि संकटमा छन् ।

केन्द्रमा सत्तारुढ दल नेकपा एमालेकै सांसदहरुबाट विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले अब विपक्षी गठबन्धनसंगको सहकार्यमा मन्त्रीमण्डल विस्तार गर्नेछन् ।

माओवादी जसपा र कांग्रेसको नेतृत्वमा रहेका प्रदेश सरकार विस्तार गर्ने र एमाले नेतृत्वको सरकार परिवर्तन गर्ने देउवाको आगामी रणनीति छ ।

आफ्नै दलको निर्देशनविपरित विश्वासको मत दिएका माधव नेपाललाई पनि देउवाले गुनको बदला तिर्न बाँकी छ ।

विश्वासको मत पाएसंगै केन्द्रीय सरकार डेढ बर्षको लागि सुरक्षित भएको छ । अब सबैको चासो प्रदेश सरकारतर्फ छ ।

प्रदेश नम्वर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा एमालेको केपी ओली पक्षको सरकार भएकोले यी ३ वटा सरकार परिवर्तनको संभावना देखिएको छ ।

विभिन्न अन्तरविरोध भएपनि नेकपा एमाले कानूनी रुपमा फुटिसकेको छैन । यदि एमाले आधिकारिक रुपमा विभाजन भएमा बागमती सरकार परिवर्तन हुने पक्का छ । विभाजन नभइ एमालेकै सरकार कायम रहेमा पनि मुख्यमन्त्री पौडेलले एकता जोगाउनको लागि मुख्यमन्त्री पद माधव पक्षलाई सुम्पिनुपर्ने देखिएको छ ।

एमालेकै सरकार रहँदा पनि मुख्यमन्त्री पौडेल संकटमा

नेकपा एमालेको माधव नेपाल पक्षका नेता एवम् प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले नेकपा एमालेकै नेतृत्वमा सरकार गठन हुँदा पनि मुख्यमन्त्री पौडेल संकटमा रहने बताएका छन् ।

एमाले एकता जोगाउन विभिन्न सहमति भएको र ती सहमति अनुसार अघि बढ्दा मुख्यमन्त्री पौडेलले योगदान गर्नुपर्ने अवस्था आएको उनले बताए ।

‘नेकपा एमालेसंग स्पष्ट बहुमत छ । पार्टी एकताको लागि विभिन्न सहमति भएका छन् । सोही अनुसार हामीले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट पास गर्ने क्रममा सरकारलाई समर्थन गरेका थियौँ । अब मुख्यमन्त्रीज्यूले योगदान गर्नुपर्ने बेला भएको छ । एमालेकै सरकार रहन्छ तर उहाँ मुख्यमन्त्री पदमा रहनुहुन्न ।’ उनले भने ।

उनले माधव नेपाल पक्षलाई बागमती प्रदेशको नेतृत्व दिने पक्षमा मुख्यमन्त्री पौडेलसमेत सहमत भएको दावी गरे ।

त्यस्तै नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले बागमती सरकार परिवर्तन जरुरी भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले नेकपा एमालेका हरेक सांसदले प्रदेश सरकार जोगाउन संयमतापूर्वक भूमिका खेलेको भन्दै अब नेतृत्व हेरफेर हुनुपर्ने धारणा राखिन् ।

उनले भनिन् ‘नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश सरकार जोगाउन निकै ठूलो भूमिका खेलेको हामीमाझ प्रष्ट छ । सरकारलाई जनउत्तरदायी बनाउन हामी सक्रिय थियौँ र छौँ । सरकार जोगाउन लचकता अपनाउँदै गर्दा कारबाही र स्पष्टिकरण पनि नभोगेका होइनौँ । तर पनि हामी संघर्षबाट भागेनौँ । सरकार जोगाउनकै लागि समस्याकाबीच पनि हामीले प्रदेश सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक बर्षको बजेट पास गरेका छौँ । नेतृत्वको विषयमा हामी गम्भीर छलफलमा छौँ । नेतृत्व पुर्नगठन हुन्छ र हुनुपर्छ यो वर्तमान समयको माग पनि हो ।’

जनताको हितका लागि सरकारको नेतृत्व र मन्त्रीहरु फेरबदल हुनु जरुरी भएको उनको भनाई छ ।

‘मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार असफल सावित भइसक्यो’

नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार पूर्ण रुपमा असफल सावित भइसकेकोले केही दिनमा नै सरकार परिवर्तन हुने बताएका छन् ।

सचेतक लामाले प्रतिगमनकारी, स्वेच्छाचारी, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेलाई नेतृत्वबाट हटाइने उनको बर्हिगमन नै जनताको चाहाना भएको बताए ।

उनले आफुहरु प्रदेशमा अविस्वासको प्रस्ताव दर्ता गर्न तयार रहेको र केन्द्रको निर्देशनको पर्खाइमा रहेको पनि बताए ।

‘हामी निर्देशन पर्खिइरहेका छौँ, एमालेभित्र पनि मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारविरुद्ध आवाजहरु उठिरहेका छन् । अन्य विपक्षी दलहरु पनि सन्तुष्ट हुने आधार छैन । त्यसैले सरकार परिवर्तन हुन्छ ।’ उनले भने ।

सरकार परिवर्तनको विषयमा छलफल भइरहेको छ

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले प्रदेशमा नेतृत्व परिवर्तनको विषयमा छलफल भइरहेको स्वीकार गरेका छन् ।

केपी ओली पक्षका निरौलाले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई नियन्त्रण गर्न एमालेकै नेतृत्वमा सरकार परिवर्तनको छलफल स्पष्ट पारे ।

छलफलका क्रममा पार्टी एकताका लागि मुख्यमन्त्री पौडेलले समेत आफ्नो क्षेत्राधिकारबाट सक्दो योगदान गर्ने बचन दिएको भन्दै उनले सरकार पुनर्गठन हुनसक्ने बताए ।

बागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमालेको ५६, नेकपा माओवादी केन्द्रको २३, कांग्रेसको २२ र अन्य विपक्षी दलहरुको ८ मत रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*