आज चट्याङसहित अति भारी बर्षाको सम्भावना
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सक्रिय रहने भएकाले देशका धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
यसैगरी, शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र लुम्बिनीलगायत अन्य प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
