राष्ट्रियसभा उपनिर्वाचनः पिसिआर रिपोर्ट अनिवार्य नहुने, मोबाइल लैजान नपाइने

तु खबर संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १६:२६
तस्वीरः क्रमश रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटा

मकवानपुर । भोलि हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा कोरोना परिक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ ।

सबै मतदाताले पिसिआर रिपोर्ट उपलब्ध गराउन नसक्ने अवस्था देखिएपछि अनिवार्य नगरिएको उपनिर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।

बुधबार पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन अधिकृत श्रेष्ठले तीनै जना उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा सो निर्णय गरेको जानकारी दिए ।

निर्वाचन आयोगले भने सबै मतदातालाई ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । उपनिर्वाचन अधिकृत श्रेष्ठले रिपोर्ट लिएर आउनेलाई एउटा लाइन र नहुनेलाई अर्को लाइनमा राखी मतदान प्रक्रियामा सहभागि गराइने उल्लेख गरे ।

कोरोना संक्रमित मतदातालाई पनि स्वास्थ्यकर्मीको सहयोगमा छुट्टै लाइनमा राखी मतदानमा सहभागि गराइने जनाइएको छ ।

त्यस्तै भोलि हुने उपनिर्वाचनको मतदान कक्षमा मोवाइल क्यामेरा जस्ता सामग्री लैजान प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

गोप्य मतदानलाई प्रभावकारी विश्वसनीय बनाउन सो निर्णय गरिएको उनले बताए ।

मतदानस्थलमा निर्वाचनको गतिविधि बिथोल्ने, प्रतिबन्धित गतिविधि गर्ने जो कोहीलाई पनि मतदान अधिकृतले तत्काल नियन्त्रणमा लिई कारबाही गर्न सक्ने उनले बताए ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट बहालवाला गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । , बादललाई राप्रपाले समर्थन गरेको छ । एकपा एमालकै माधव पक्षबाट डा. खिमलाल देवकोटा उम्मेदवार भएका छन् । डा. देवकोटालाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले समर्थन गरेको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टी नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार  छन् ।

उपनिर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सांसद्, स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३८ जना गरी कूल ३४७ जना सहभागि हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेश सांसद्को प्रतिव्यक्ति ४८ र स्थनीय तहका प्रमुख तथा उपप्रमुखको प्रतिव्यक्ति १८ मतभार गणना हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*