भीमफेदी–कुलेखानी सडकखण्ड आजदेखि बन्द

तु खबर संवाददाता
२०७८ बैशाख १०, शुक्रबार ०८:०८
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी कोठमाडौँ जोड्ने  सबैभन्दा छोटो दुरीको मार्ग भीमफेदी– कुलेखानी सडकखण्डमा आजदेखि यातायात सेवा संचालन नहुने भएको छ ।

सडक स्तरोन्नतीका लागि बैशाख १० गतेदेखि जेठ २५ गतेसम्मका लागि यातायात संचालनमा पूर्ण रुपमा रोक लगाइएको हो ।

भीमफेदी–कुलेखानीको सडक फराकिलो पार्ने काम सकिएको छ । अहिले स्लाब ढलान र पीच गर्ने काम भइरहेको यातायात पूर्वाधार विकास निर्देशनालय बागमती प्रदेश हेटौँडाले जनाएको छ ।

अब उक्त सडकखण्डमा पीच गर्ने काम सक्नेगरी तयारी गरिएको समेत निर्देशनालयले जनाएको छ ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि १८ करोड रुपैयाँ तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि १६ करोड रुपैयाँगरी कूल ३४ करोड बजेट विनियोजन भएको थियो ।

भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको तथा ढल तथा पर्खाल निर्माण गरिएको छ ।

मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको निर्देशनालयले जनाएको छ ।

भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जोड्ने फाखेल सडकखण्ड पनि बैशाखमसान्तसम्मको लागि यसअघि नै बन्द गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*