पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि हुने
काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको विशेष पूजा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार, हाललाई एक हजार १ सयदेखि २७ हजार रुपैयाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो ।
फागुन २७ गते महाशिवरात्रीका दिन पाँच हजार १ सय र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजा मात्र गर्ने गरी तयारी गरिएको उनले बताए ।
महाशिवरात्रीका दिन पाँच हजार १ सयको रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११ हजार रुपैयाँको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजनालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।
