पशुपति क्षेत्र वरपर मासु र मदिरा निषेध

तु खबर संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १६:०६

काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा मासु र मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी भोलि फागुन २३ गतेदेखि २७ गतेसम्म मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाइएको हो ।

प्रशासनका अनुसार, गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको बिक्री गर्न नपाइने भएको हो ।

साथै प्रशासनले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि जनाएको छ ।

हिन्दु धर्माबलम्बीले शिव भगवानको पूजा आराधना गरी मनाउने पर्व शिवरात्रि यही फागुन २५ गते शुक्रबार परेको छ ।