सुस्मिताको हत्यामा संलग्न चारै जनालाई पुर्पक्षको लागि जेल चलान गर्न आदेश

तु खबर संवाददाता
२०७७ असार ३१, बुधबार १४:३७

मकवानपुर । मकवानपुर जिल्ला अदालतले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्यचोककी सुस्मिता केसी थापाको हत्यारालाई पूर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको छ ।

बुधवार अदालतकी जिल्ला न्यायधीश सीता शर्मा अधिकारीको एकल इजालशले सुस्मिता केसी थापाको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र दुर्गा थापा कार्कीलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

अभियुक्त चार जनामध्ये एक जना अभियुक्तलाई भीमफेदी कारागार र तीन जनालाई चितवनको भरतपुर कारागार पठाउने भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

अदालतका अनुसार, सुस्मिताको ससुरा प्रकाश थापालाई भीमफेदी कारागार र अन्यलाई भरतपुर कारागार पठाउने भएको हो ।

सुस्मिताको ससुरा प्रकाश थापाले दुर्घटनामा परी मृत्यु भएका आफ्नो छोरा रुपेन्द्र थापाको ६ महिनाको श्राद्ध संस्कार गर्नको लागि बुहारी (सुस्मिता) लाई माइतीबाट बोलाई परिवारकै मिलोमत्तोमा गत असार १ गते राति भान्साकोठामा सुस्मिताको सिलौटाको लोहोराले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला अदालत मकवानपुरमा दिएको बयानमा स्वीकार गरेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

उनका अुसार, अदालतको बयानमा उनीहरुले बयानमा बुहारी सुस्मितालाई मृतक छोरोका तर्फबाट आउने बीमा बापतको रकम पाउने भएको र उक्त रकम सुस्मिताले नभई आफुहरुले खर्च गर्ने उद्देश्यले परिवारकै मिलोमत्तोमा बुहारीको हत्या गरेको स्वीकार गरेका थिए ।

उक्त अदालतले सुस्मिताको नन्द दुर्गा थापा कार्कीको श्रीमान अरुण कार्कीलाई पक्राउ गर्न पक्राउ पुँर्जी जारी गरेको छ । यस घटनामा अरुण पनि संलग्न रहेको र उनी हाल फरार रहेका कारण मकवानपुर जिल्ला अदालतले पक्राउ पुँर्जी जारी गरेको श्रेस्तेदार भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*