नेकपा सांसद स्थापितको एक घण्टा लामो भाषणः हेटौंडादेखि चितवन समेटेर ‘सिंगापुर’ !

तु खबर संवाददाता
२०७६ पुष २०,आईतवार २०:०२
file-photo

मकवानपुर, २० पुस । नेकपाका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केशब स्थापितले हेटौंडाको १, २ र ३ नम्बर वडा तथा राप्ती खोलाको तिरैतिर चितवनसम्मलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन नेकपाको जारी संसदीय दलको बैठकमा प्रस्ताव गरेका छन् ।

उनले प्रदेश राजधानीको नाम बाग्मति नभई पद्मज्योति वा पद्मरश्मी नामकरण गर्न समेत माग गरेका छन् ।

एक घण्टाभन्दाबढी बोलेका नेता स्थापितले राप्ती खोलाको तिरैतिर फराकिलो सडक बनाउने र प्रदेशको लोगो कमलको फूल राख्नुपर्ने समेत बताएका छन् ।

केन्द्रले हेटौंडामात्रै भनेर लाद्ने काम गरेको उनले असहमति समेत राखेका छन् । हेटौंडामात्रै भनेर लाद्दा भोलि मतदानमा २÷४ मत पुगेन भने नेतृत्व खुइलिन्छन्, उनले बैठकमा भनेका छन् ।

बैठकमा आफ्नो धारणा राखेपछि तु खबरसँग कुराकानी गर्दै नेकपा प्रदेश सभा सदस्य स्थापितले सर्वसम्मत गराउनका लागि आफूले यस्तो धारणा बैठकमा राखेको बताए ।

बैठकमा आफूले बोलेको कुरा उद्धृत् गर्दै उनले हेटौंडादेखि चितवनसम्म राप्ती खोलाको तिरैतिरको क्षेत्रलाई समेटेर प्रदेश राजधानी बनाउन सके आधुनिक बस्तीको विकास हुने र साँच्चिकै सिंगापुर बनाउन सकिने बताए ।

उनलाई तु खबरले तपाइको यो धारणामा कति माननीयहरुको समर्थन र बिरोध रह्यो भनी प्रश्न गरेको थियो । सो प्रश्नको जवाफ दिँदै उनले यो बिरोध र समर्थनको विषय नभएको बताए ।

‘अहिले मैले प्रस्ताव गरेको क्षेत्रमा ब्यापक खाली जग्गा छ, त्यसलाई समेटौँ, अधिग्रहण गरौँ, बस्ती विकास आयोजना बनाऔँ र विश्वकै सुन्दर राजधानी बनाऔँ ।–’ उनले भने ।

उनले ५५ किलोमिटर लामो राजधानी हुँदा त्यसले विश्वकै ध्यान तान्ने समेत दावी गरे । तु खबरसँग कुरा गर्दै स्थापितले आफूले संसदीय दलको बैठकमा एक घण्टाभन्दा बढी भाषण गरेर थुप्रै महत्वकांक्षी योजना अघि सारेको दावी गरे ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*