सशस्त्र प्रहरीको टोलीलाई ‘म विप्लव पार्टीको इन्चार्ज हुँ भनेपछि’
मकवानपुर, वैशाख ०१ । विप्वल नेतृत्वको नेकपा मकवानपुर इन्चार्ज बीरबहादुर घलान ज्वाला पक्राउ परेको घटना सार्वजनिक भएपछि राजनीतिक वृत्तमा खैलाबैला नै मच्चियो । एकाएक मकवानपुरको राजनीतिक वृत्तमा ज्वाला कसरी समातिए भन्ने चर्चा चुलिन थाल्यो ।
सशस्त्र प्रहरी वलले उनलाई हेटौंडा ८ मा पर्ने ऋद्धिसिद्धि सिमेन्ट अगाडिबाट पक्राउ गरेको थियो । सशस्त्रले ज्वालालाई नेपाल प्रहरीको जिम्मा लगायो । प्रहरीले ज्वालाई जिल्ला अदालत मकवानपुर हाजिर गरायो र केही महिना अघि मनहरी गाउँपालिका वडा नं. ३ मा बरामद भएको बिस्फोटक पदार्थमा कसुरदार भनी अभियोग लगाएको छ ।
अहिले पनि सर्वत्र चासोको विषय छ कि त्यो दिन ज्वाला कसरी समातिए ? तु खबरले सो दिन ज्वाला पक्राउ पर्नाका कारण र घटना विवरणबारे बुझ्ने प्रयास गरेको थियो ।
सशस्त्र प्रहरी वलका डीएसपी अमर खत्रीका अनुसार, सशस्त्र असई कृष्णदेव यादवको कमाण्डमा सो क्षेत्रमा १० जना सशस्त्र प्रहरी सुरक्षा चेकजाँचका लागि खटिएको थियो । मोटरसाइकलमा आएका दुई जना यात्रुलाई सशस्त्र प्रहरीले रोक्यो र चेकजाँच सुरु गर्यो ।
सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनीहरुसँग चालु अवस्थामा रेहेका ७ थान मोबाइल फेला परेपछि सशस्त्र चनाखो भयो । ‘समथिङ रङ; भन्ने शंकाको आधारमा सशस्त्र प्रहरीले ज्वाला र अर्का एकलाई सोधपुछ सुरु गर्यो । सोधपुछपछि ज्वालाले प्रहरीलाई ‘म विप्लव नेकपाको जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वाला हुँ’ भनेपछि सशस्त्रले उनलाई नियन्त्रणमा लियो ।
सशस्त्र डीएसपी खत्रीले ७ थान मोबाइल र एउटा फिजिटिङ कार्ड फेला परेको बताउँदै घटना विवरणको पुष्टि समेत गरे ।
अहिले ज्वाला जिल्ला अदालतको आदेशमा प्रहरी हिरासतमा छन् ।
