मुख्यमन्त्रीमार्फत् इन्जिनियर्स एशोसिएसनले हेटौँडा अस्पताललाई दिएको रोबर्ट ३ दिनमै बिग्रियो
२०७७ बैशाख २६, शुक्रबार १६:५८
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत् नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले हेटौँडा अस्पताललाई दिएको रोर्बट ३ दिनमै बिग्रिएको छ ।
एशोसिएसनले मुख्यमन्त्री पौडेलमार्फत् गत २२ गते उक्त रोबर्ट हेटौँडा अस्पताललाई दिएको थियो । रोबर्टको उद्घाटन मुख्यमन्त्री पौडेल आफैँले गरेका थिए ।
कोरोना संक्रमणको जोखिमका बेला रोबर्टमार्फत् आइसोलेसनमा रहेका बिरामीहरुलाई खाना र औषधी बेडसम्म पुर्याउन सहज हुने भन्दै इन्जिनियर्स एशोसिएसनले रोबर्ट दिएको थियो ।
अस्पताल स्रोतका अनुसार २ घण्टा चार्ज गर्नुपर्ने रोबर्ट रातैभर चार्जमा राखिएकोले बिग्रीएको बुझिएको छ ।
यस विषयमा अस्पतालका मेसु प्रविण श्रेष्ठसंग जिज्ञासा राख्दा उनले रोबर्ट बिग्रिएको स्वीकार गरे । उक्त रोबर्ट मर्मतको लागि इन्जिनियरहरुको टोली बोलाइएको उनले बताए ।
