सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
डा. यादवले आफु अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।
डा. यादवले बुधबार आयोग कार्यालयका सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् ।
उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।
यसअघि डा.यादवले आफुलाई अपहरण गरेको भन्दै सरकारी वकिल कार्यालय काठमाडौं र महानगरीय प्रहरी परिसर काठमाठौंमा उजुरी दिन पुगेका थिए । तर दुबै निकायले उनको उजुरी लिन अस्वीकार गरेको थियो ।
