पत्रकार धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग

तु खबर संवाददाता
२०८३ कार्तिक १७, सोमबार १९:२८

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी बन्दै गएको र विधिको शासन तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको आरोप लगाउँदै घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सोमबार बिहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पत्रकार धरपकडलगायत पछिल्ला सरकारी गतिविधिको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको हो ।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि हुने छुट कसैलाई नरहेको बताए । पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो ।

कांग्रेसले पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमतिविनै समाचार कक्षबाटै पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ । समाचार कक्षमा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गर्नु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीतको स्वेच्छाचारिता भएको नेता आङ्देम्बेले बताए ।

‘पक्राउको स्पष्ट कानुनी आधार र अदालतको अनुमतिविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन, विधिको शासनविपरीतको स्वेच्छाचारिता हो,’ उनले भने, ‘यसको जवाफ सरकारले संसद् र जनतालाई दिनुपर्छ ।’

उनले सरकारले कानुनी प्रक्रिया पूरा नगरी ‘जे गरे पनि हुन्छ, जवाफ दिनु पर्दैन’ भन्ने प्रवृत्ति देखाएको आरोपसमेत लगाए । यस्ता गतिविधिले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन लाद्ने खतरा रहेको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेसले पत्रकार धरपकडसहित सरकारसँग जोडिएका विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्नेमा जोड दिएको छ । साथै, घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन पनि माग गरेको छ ।

सरकारका सकारात्मक काम, जनसरोकारका विषय र सुशासनका सवालमा आफ्नो समर्थन रहने स्पष्ट पार्दै कांग्रेसले विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।