नियात्रा- देउताखोलाको सिरानमा बकैया ठाकुरको दर्शन

सञ्जय साह मित्र
२०८३ कार्तिक ११, मंगलवार १९:१९
तस्बिरः सञ्जय साह मित्र

अस्ति सल्लाह भएअनुसारै आज बिहान ६ बजेर ५ मिनेट जाँदा घरबाट निस्केका हौँ बकैयाको लागि । शुक्रबार, ३० असोज २०८३ का दिन घरबाट चिया नखाई निस्केका हामी चपुरमा एक जना शिक्षक मित्रले चिया खाऔँला भनेका छन् तर तिनीसित भेट हुन पाउँदा अगाडि बढ्नुको विकल्प रोज्नतिर लाग्दैनौँ । चन्द्रनिगापुरबाट पश्चिम लाग्दा जङ्गलमा अलिकति जाडो अनुभूति हुन्छ तर पछाडिबाट लखेटिरहेको घामको न्यानोले भने मनलाई तताएको छ । ढिलो नहोओस् भन्नेमा सतर्क छौँ ।

नयाँ बेलायती मोटरसाइकल चलाउन पाउँदा साहित्यकार किशुनदयाल श्रीकृष्णमा उत्साह बढेको छ । भन्नुहुन्छ – साढे आठ बजेसम्म आइपुग्नु भनिस्या छ मसानजीले । पौने आठ निजगढमा बजिइसक्छ । म सल्लाह दिन्छु – निर्माणाधीन द्रुतमार्ग भएर जाऔँ, पोहोर परारजस्तो । समयको बचत हुन्छ र हामी निर्धारित समयमै पुग्छौँ ।

अलिकति ढिलो भए पनि पथलैया भएरै जाने, चिनेको र विश्वसनीय बाटो जानुपर्छ, यताबाट नजाऔँ – किशुन सरको भनाइ । इसारा हुन्छ पथलैयातिर ।

म बाइक चलाउन जान्दिनँ । मैले खासै ढिपी गरेको छैन । साहित्यकार मसान उपासक र अर्का भाइ राम अविकासलाई यो कुरो थाहा छ । ढिलो वा चाँडो हुनुमा मेरो कुनै भूमिका हुँदैन भनेर । म मौन हुन्छु ।

सहिदचोकबाट अलिक अगाडि बढेपछि के हुन्छ मनमा कुन्नि, किशुन सर द्रुतमार्गको बाटो खोज्न थाल्नुहुन्छ । म सहयोग गर्न थाल्छु । अगाडि बढ्दै जाँदा चुरेको पहिलो उकालोमा सुरु हुन्छ कुहिरो । कुहिरोसँगै चिसो बतास, एक छिन त ठिहिर्‍याउन थाल्छ हात । किशुन सरलाई लाग्छ – चिटर नलाएर गल्ती गरिएछ ।

हिले र चिप्ले बाटोले दिएको दुःखबाट यो बाटो आएकोमा पछुतो हुन थाल्छ । बकैयाको मूल धार आएपछि न पछाडि फर्किने ठाउँ र न त अगाडि बढ्ने बाटो नै छ । हिम्मत गरी किशुनजी सबारीलाई बकैयाको कञ्चन पानी तर धारिलो प्रवाहमा हेलाउनु हुन्छ बाइक । के सक्नु ? बिच्चमा नपुग्दै इन्जिन बन्द । धन्न, एक जना रूपेश तामाङ भेटिनुहुन्छ र पार लगाइदिनुहुन्छ । मलाई यहाँ अध्यात्मवादीहरूको विश्वास सम्झना हुन्छ – जहाँ सङ्कट हुन्छ त्यहाँ भगवानले कुनै उपाय लगाउँछन् । अगाडि–पछाडि कोही मानिस छैनन् । एक हिसाबले निर्जन वनमा सुसाइरहेको बकैयाको धारमा देउता बनेर आउनु भएका रूपेश तामाङ सहयोग गरी झोला बोकेर आफ्नो बाटोमा ओझेल बन्नुहुन्छ । हामी आफ्नो बाटो लाग्छौँ उहाँप्रति ऋणी र आभारी भाव मनभरि बोकेर ।

करिब कम्मरसम्म भिजेका हामी उकाली–ओराली गर्दै अगाडि बढ्दछौँ । यात्राको सबैभन्दा कठिन दिन आजै हो । ज्यान नै जोखिममा नपरेको भए पनि कुनै मानेमा कम अप्ठेरो झेलेका होइनौँ । मानसिक तनाव पनि उत्कर्षमा थियो । बाइकले साथ दिइरहँदा आश्वस्त मन सडकको बिग्रेको छ । हामीलाई पर्खिरहनु भएका राम र मसानलाई भेट्नुपर्ने ठाउँभन्दा पाँच किलोमिटर जति माथि पुग्दछौँ भीरकोट । केही बेरमा सबै जनाले औपचारिकता निर्वाह गरी अगाडि बढ्ने निष्कर्षसहित लाग्दछौँ हात्तीसुँडेतिर जहाँ एउटा गम्भीर षड्यन्त्रले हामीलाई पर्खिरहेछ ।

पुष्पा होटलअगाडि पुगेर रोकिन्छौँ । मसान व्यस्त फोनमा, राम गम्भीर । आजभोलि राम अविकासको गम्भीरताको अर्थ खोजिरहन पर्दैन । जे जति आवश्यक छ त्यत्तिमात्र बोल्ने, तरकारीमा नुनजत्ति, दालमा घीउजत्ति र मासुमा बेसारजत्ति । अढाई तीन दशकदेखि चिनेको राममा हरेक दशकमा एउटा गम्भीर परिवर्तन आइरहेको छ ।

अबेरलाई हतार होला तर हामीलाई भएजस्तो लाग्दैन । हामीलाई डुल्न बोलाउने दुवै मित्र राम अविकास र मसान उपासक, निष्कर्षमा, बकैयाको मुहान हेर्न नजाने बुझेपछि पछुतो लाग्न थाल्छ । उत्साह भर्ने र यात्राको तारतम्य मिलाइदिने पनि एउटा कला रहेछ । मित्र मसानले सबै चाँजोपाँजो मिलाउनु भयो, राम साक्षी हुनुहुन्छ, दुवै जना फर्कनु हुन्छ पछुतोको अभिनयसहित । उम्लेको दूधमा स्वादिष्ट कागतीका दुई थोपा प्रेमरुपी रस मिसाउँदा हुने फाटेको उत्साह बोकेर हात्तीसुँडेभन्दा उकालो चढ्न सुरु गर्दछन् दुई बाइक ।

पहिलोमा छौँ हामी दुई पुरानै । दोस्रोमा हुनुहुन्छ विजय मंगोलियन र विश्वराज शर्मा लामिछाने । एउटा संयोग मिलेको छ, पछाडि बसेका लामिछाने र म बाइक चलाउन जान्दैनौँ । बसेर जान चाहिँ मज्जा लाग्छ । लामिछाने शिक्षक, मजस्तै । अनि विजयजी, बहुमुखी समाजसेवी । जुन ठाउँ जान लागेका छौँ, त्यसका प्रवद्र्धक । मित्र मसानले धेरै नै बढाइचढाइ गरी हाम्रो बारेमा भनिसक्नु भएको छ, यसैले बकैयाका निकै चर्चित व्यक्तित्वलाई घुमाइदिन तयार पार्नु भएको छ । आफू छड्किए पनि मनमनै धन्यवाद दिन्छु, किनभने मसानकै कारण अहिले यात्रारत छौँ । हात्तीसुँडेबाट हिँड्नै लाग्दा मसानजीको भनाइ हुन्छः “दाजु, मलाई जत्तिकै गाली गर्न सक्नुहुन्छ विजयलाई ।” आत्मीयताको दोहोरो सामीप्य झल्किने यस भनाइको भावले मनमा सान्त्वना लेप तिहारको तयारीमा रहेको घरहरूमा कमेरो पोतेजस्तै पोतिन्छ ।

केही बेरमा रोकिन्छौँ राजमार्गकै एउटा पुलमाथि । विजयजी भन्नुहुन्छ – यो बकैयाखोला हो, हामी देउताखोला भन्दछौँ । यस क्षेत्रमा बकैया भनेर कसैले पनि बोलाउँदैनन्, देउताखोला नै भन्दछन् । तल, ऊ त्यहाँ… … उताऽऽ सिमातखोलासित सङ्गम भएपछि देउताखोला र सिमात मिलेर बकैया बन्दछ । देउताखोलामा थुक फाल्ने, फोहोर फाल्ने, पिसाप फेर्ने, दिसा धुने आदि केही पनि हुँदैन, गर्नुहुँदैन । यस क्षेत्रमा यो निकै पवित्र छ । सबैको श्रद्धा र आस्थाको खोला हो ।

साँच्चै सबैतिर खोलासित यस्तो आस्था जोडिन सक्ने हो भने हाम्रा नदीखोलाहरू पवित्र नै रहन पाउँथे । स्वच्छताको दृष्टिकोणले कति धेरै महत्व छ आस्थाको ।
म बुद्धिस्ट हुँ तर देउताखोलाप्रति अत्यन्त धेरै श्रद्धा छ । हाम्रो घरमा हरेक बिहान पूजा हुन्छ । मेरो हरेक सफलतामा देउताखोलाको सिरानमा रहेको बकैया ठाकुरको आशीर्वाद छ । हरेक वर्ष कुखुराको बलि दिने गर्छु – विजयजीको वक्तव्यले एकातिर मन रोमाञ्चित हुन्छ भने अर्कोतिर बकैयाप्रतिको श्रद्धा बढेर आउँछ ।

पुललाई पछाडि पार्दै अगाडि बढ्दै गर्दा विजयजी दाहिनेतिर देखाउँछै भन्नुहुन्छः “हाम्रो रङ्गशाला… । ” उहाँको परिश्रमको आलोकमा बकैया गाउँपालिकाका खेलाडी आलोकित भइरहेको पहिलो प्रमाण उक्त भूमि बन्न पुगेको छ । विजयजीको नमनयोग्य संयोजनकारी कर्मका लागि अभिनन्दन छ । त्यसमा परेको सङ्घर्ष र दिइरहेको परिणामबारे सूत्रात्मक जानकारी प्राप्त गर्नु पनि मेरो लागि यात्राको महत्वपूर्ण उपलब्धि हो ।

अनि सुरु हुन्छ बकैयासित सम्बन्धित मिथकका कुरा । विजयजी र लामिछाने सरसित जे जति मिथक तथा किंवदन्ती छन्, ती सबैको सङ्कलन गर्नु जरुरी छ । साथै, खोला किनारका बासिन्दा, ज्येष्ठ नागरिक र अन्य प्रबुद्ध वर्गका सुनाइहरू, अनुभूतिहरू तथा मिथक र किंवदन्तीहरूको सङ्कलन अत्यावश्यक छ । बकैयाको सिरानदेखि पुछारसम्म बौद्ध, हिन्दू र इस्लाम धर्मावलम्बीका अनेक बस्तीहरू छन् । कम्तीमा नेपालमा बकैया खोलाको दुवैतिर बसेका बस्तीसित जोडिएका मान्यता, आस्था, संस्कृति तथा परम्पराको अध्ययन गर्नुपर्छ । मलाई लाग्छ, उद्भवस्थलको नाताले बकैया गाउँपालिकाले यसको नेतृत्व तथा संयोजन गर्नुपर्छ । बकैया सभ्यतालाई परिचित गराउन अब ढिलो गर्नुहुँदैन ।

उकालो देख्ने बित्तिकै किशुन सरको बाइकले चढ्न मान्दैन । घरि घरि रिसाएर बस्छ । समयको ख्याल गर्दैन । देख्न नसकेर विजयजी भन्नुहुन्छः “अब म चलाएर हेर्छु … ।” साँच्चिकै बाइक त मज्जाले उकालो चढ्न थाल्छ । अनि किशुन सर चलाउन थाल्नुहुन्छ उहाँको बाइक । अहिले महसुस हुन्छः सायद किशुन सरलाई बाइक चलाउनै आएको रहेनछ । सायद चलाउन जानेका भए बकैया खोलामा हामी भिज्ने थिएनौँ । उहाँ आफैं स्वीकार्नु हुन्छः “यसको अर्थ त्यो बाइक चलाउन जानिएनछ ।” ढुङ्गेनी उकालो बाटो नाप्दै कहीँ बस्ती त कहीँ जङ्गल छिचोल्दै बढिरहेका छौँ । ज्यादै अप्ठ्यारा ठाउँमा ढलान गरिएको सडक छ, विशेष गरी मोडहरूमा । कहिलेकाहीँ लाग्दछ, साहसी र हातमा बल हुनेले मात्र यो यात्रा गर्न रमाइलो हुन्छ ।

जहाँ पनि विजयजीका चिनजानका मानिस छन् । लाग्छ, यस सम्पूर्ण क्षेत्रले उहाँलाई चिनेको छ । गज्जबको फरासिलो व्यक्तित्व हुनुहुन्छ । धर्म र संस्कृतिप्रति निष्ठावान् र कर्तव्यनिष्ठ । दीर्घकालीन सोच भएको, विचारवान्, दूरदृष्टि भएका । सहयोगी हृदय । बकैया सभ्यता र संस्कृतिको अध्ययन, संरक्षण तथा जनमानसमा विस्तारका लागि उहाँको प्रयासले सार्थकता पाउने विश्वासका आधारहरू देखिइरहेका छन् । लामिछाने सर अत्यन्त संयमित ।

बाइक रोकिन्छ, उकालोमा । माथि देखिन्छ मन्दिर । मन्दिर भन्नु देउताखोलाको उद्गमस्थल हो । केही सिंढी उकालो चढेपछि पुग्दछौँ त्यहाँ जहाँ धेरै वर्षदेखि पुग्ने चाहना थियो ।
मलाई बकैया नदीको उद्गमस्थल पुग्ने निकै पुरानो चाहना थियो । आदरणीय शिक्षक धर्मेन्द्रकुमार सिंहका बुवाले रौतहटको सोनरनिया गाउँकी एक युवतीसित बकैया नदीले विवाह गरेको कथा सुनाउनु भएको थियो । उक्त कथाअनुसार बकैया पुरुष नदी हो । सबैतिर नदीलाई स्त्रीरूपमा स्वीकार गरिएको पाइन्छ हाम्रो समाज र संस्कृतिमा तर बकैयाले युवतीलाई विवाह गरेको सन्दर्भले अत्यधिक उत्सुक बनाएको थियो । बाराको निजगढमा पनि बकैया ठाकुर प्रावि रहेको पढेको छु । अनि बकैया गाउँपालिकाकै एक जना साहित्यकारले कतै लेखेको पढेको छु – बकैयाको सिरानमा बकैया ठाकुरको मन्दिर छ । सबै उत्सुकताको एउटा अग्लो पहाड बनेको थियो साढे ११ सय मिटरभन्दा माथिको उचाईमा अहिले बिसाउन पुगेको छु । आस्था, श्रद्धा र पवित्रताको उत्कर्षमा रहेको देउताखोलाको सिरानका पनि अनेक किंवदन्ती र मिथकहरू छन् । अनेक साक्ष्यहरू छन् ।
अम्बासलेकको दक्षिणी मोहडामा रहेको मन्दिरबाट करिब पाँच मिटरमा पानीको सानो खाल्डो छ । मन्दिरको भूइँसतहभन्दा अलिक माथि अम्बासको काखमा वनस्पतिहरूले घेरिएर बसेको मुहानको जल न कहिले सुक्छ र न कहिले बढ्छ रे । अत्यधिक वर्षा हुँदा कहिलेकाहीँ मात्र अलिकति माथिबाट बगेको हुन्छ हैनभने त्यहाँबाट पहाडको छाती रसाएरै हो तलतिर बग्ने । त्यहाँ रहेका युवाहरूको नेतृत्व गरिरहेका सोमराज भोलोनको स्वागतबाट द्रविभूत भएका हामी उहाँबाट प्राप्त जानकारीले यात्रा पूर्णतः सार्थक भएको ठान्दछौँ ।
देउताखोलाका देउता अम्बासलेकको काखमा दक्षिणाभिमुख बस्नु, बागमती नदी अम्बासलेकको उत्तरतिर पूर्वाभिमुख हुनु तथा बकैया ठाकुर यहाँको जनजीवनसित अत्यन्त जोडिएका देउता हुनुका साथै अनेकानेक मिथक र किंवदन्तीहरू छन् । संस्कृति, इतिहास र पर्यटनको त्रिवेणी यस पवित्र धरासित साक्षात्कार गर्न पाउँदा आजको दिन अति विशेष बन्न गएको छ ।

सुन्दर प्राकृतिक वातावरण, पहाडको चिसो हावा, लेकको माथिल्लो भागमा पुगेपछि कम्तीमा पाँच जिल्लाको दृश्यावलोकन, कालेश्वर महादेवको मन्दिर, ऐतिहासिक अम्बासगढी तथा अन्य धेरै धेरै तथ्य र सत्य बोकेको यस ठाउँको दर्शन नगर्नु भनेको नजिकको तीर्थ हेलाँ नै भएको पछुतोभाव हुने रहेछ । अझ, विजयजीको साथले यात्राको सार्थकता दोब्बरले वृद्धि भएको छ । फेरि पनि दर्शन गर्न आउने चाहनाले भरिएको छ मन ।

(साहित्यमा ‘मकवानपुरको महक’ शृङ्खला ४९)