संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालसहित १५ राष्ट्रलाई परिषद्को सदस्यमा निर्वाचित गर्दा नेपाल समेतका निर्वाचित देशहरुले सन् २०२९ सम्म सदस्यको रुपमा कार्यकाल सम्हाल्ने छन् ।
संयुक्त राष्ट्रसंघमा भएको गोप्य मतदानबाट नेपाल आगामी जनवरी १ देखि तीन वर्षे कार्यकालका लागि निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिए ।
निर्वाचित राष्ट्रमध्ये एसिया–प्रशान्त समूहबाट नेपालसहित जापान, जोर्डन, र कुवेत निर्वाचित भएका छन् भने अफ्रिकी समूहबाट बुरुन्डी, घाना, नाइजेरिया र जाम्बिया निर्वाचित भएका छन् ।
त्यसैगरी, माल्दोभा र युक्रेन, ब्राजिल, डोमिनिकन रिपब्लिक र उरुग्वे तथा जर्मनी र आयरल्यान्ड निर्वाचित पनि सदस्यमा निर्वाचित भएका छन्।
यस अघि नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा समाजिक विकास परिषद् (इकोसक) को समेत अध्यक्ष थियो । नेपालका स्थायी प्रतिनिधि थापाको नेतृत्वमा रहेको इकोसकले कार्यकाल भरी महत्वपूर्ण कामहरु गरेको थियो भने नेपालका पक्षमा थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अहिले निर्वाचित भएको मानवअधिकार परिषद् संयुक्त राष्ट्रसंघको महत्वपूर्ण निकाय हो । विश्वभर मानवअधिकारको प्रवर्द्धन र संरक्षणका लागि काम गर्ने यो निकायको सदस्य हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धी हो, थापाले तु खबरसँग भने ।
