अग्रवाललाई थुनामुक्त गराउने प्रयास असफल, बन्दीप्रत्यक्षीकरण रिट नै दरपीठ
व्यवसायी शंकरलाल अग्रवाललाई थुनामुक्त गर्न माग गर्दै दायर गर्न खोजिएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले सर्वोच्च प्रशासनले रिट दरपीठ गर्ने निर्णयलाई सदर गरेको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले अग्रवाललाई थुनामा पठाउने आदेश दिएपछि उनका परिवारका तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो।
प्रशासनको निर्णयविरुद्ध अग्रवालको तर्फबाट मंगलबार सर्वोच्च अदालतको इजलासमा निवेदन दिइएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पौडेलको इजलासले रिट दरपीठ गर्ने प्रशासनको निर्णयलाई नै सदर गरेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएका अग्रवाललाई अदालतले थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतको उक्त आदेशपछि उनी बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए।
