संयुक्त राष्ट्रसंघमा क्यानाडा र भारतबीच सम्बन्ध सुदृढ गर्ने विषयमा विदेशमन्त्रीबीच छलफल

तु खबर संवाददाता
२०८३ आश्विन १३, मंगलवार ०८:१७
तस्बिरः ग्लोबल अफेयर्स क्यानाडा

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा क्यानाडाकी विदेश मन्त्री अनिता आनन्द र भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशंकरबीच भेटवार्ता भएको छ।

भेटका क्रममा दुवै देशबीचको कूटनीतिक सम्बन्धका साथै व्यापार, ऊर्जा र सुरक्षा क्षेत्रका विविध आयामबारे विस्तृत छलफल भएको छ। जनस्तरको प्रगाढ सम्बन्ध र लगभग ८० वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई उनीहरूले भेटमा स्मरण गरेको ग्लोबल अफेयर्स क्यानाडाले जनाएको छ।

व्यापार, ऊर्जा, नवप्रवर्तन, रक्षा र गतिशीलताका क्षेत्रमा साझा लक्ष्य निर्धारण गर्ने दुवै देशबीचको रोडम्यापलाई आगामी दिनमा पनि निरन्तरता दिँदै आपसी सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।

विदेश मन्त्री आनन्दले विश्वको एक तीव्र गतिमा विकसित भइरहेको गतिशील अर्थतन्त्रका रूपमा भारत क्यानाडाका लागि अत्यन्तै महत्त्वपूर्ण साझेदार रहेको बताइन्। भेटका अवसरमा दुवै देशबीचको ‘बृहत् आर्थिक साझेदारी सम्झौता’ सम्बन्धी भइरहेका वार्ताहरूलाई तीव्रता दिने विषयमा समेत विचार-विमर्श भएको छ।

दीर्घकालीन ऊर्जा सहकार्यतर्फ विशेष जोड दिँदै नवीकरणीय ऊर्जा, महत्त्वपूर्ण खनिज पदार्थ र नागरिक आणविक ऊर्जा क्षेत्रमा सहकार्यको प्रचुर सम्भावना रहेकोमा दुवै देश सहमत छन्।

भारतको आर्थिक वृद्धि बलम ऊर्जा रूपान्तरणको यात्रामा क्यानाडा भरपर्दो साझेदार बन्न सक्ने विश्वास मन्त्री आनन्दले व्यक्त गरेको क्यानाडाको विदेश मन्त्रालय, ग्लोबल अफेयर्सले जानकारी दिएको छ।

द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन आगामी दिनमा समेत उच्चस्तरीय भेटघाटहरूलाई निरन्तरता दिने सहमति पनि भएको छ।