नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

तु खबर संवाददाता
२०८३ आश्विन ९, शुक्रबार ०५:०८
तस्बिरः परराष्ट्र मन्त्रालय, नेपाल ।

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला(मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै देशका परराष्ट्रमन्त्रीहरूबीच पारस्परिक हितका विविध विषयमा विचार विमर्श भएको थियो। सो अवसरमा नेपालमा हालै आएको विनाशकारी विपद् बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालय नेपालले जानकारी दिएको छ ।

दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावनाहरू खोजी गर्दै दुई देश तथा जनताको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउनुपर्नेमा बताएका छन् ।