मित्रद्वारा लिखित नेपालीय बज्जिकाको पहिलो एकाङ्की सङ्ग्रह ‘पंचामृत’ लोकार्पित
बज्जिका भाषाका चर्चित साहित्यकार सञ्जय साह मित्रद्वारा लिखित पाँच ओटा एकाङ्कीको सङ्ग्रह ‘पंचामृत’ भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको प्राचीन स्थल कोल्हुआमा लोकार्पण गरिएको छ ।
लोकार्पण समारोहमा बोल्ने वक्ताहरुले यसलाई बज्जिका भाषामा नेपालमा लेखिएको पहिलो एकाङ्की सङ्ग्रह भएको बताएका छन् ।
भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, पाठ्यपुस्तक, व्याकरणादि विभिन्न क्षेत्रका गरी मित्रका अहिलेसम्म १९ कृति प्रकाशित भइसकेका छन् ।
मित्रको २०औँ कृतिको रूपमा ‘पंचामृत’ एकाङ्की सङग्रह प्रकाशित भएको हो ।
बज्जिका साहित्य सङ्गम रौतहटले प्रकाशित गरेको ‘पंचामृत’ एकाङ्की सङ्ग्रहमा इतिहास, संस्कृति र पर्यावरणसित सम्बन्धित पाँच एकाङ्की रहेका छन् ।
नेपालमा पहिलो साहित्यिक कृति पनि साहित्यकार मित्रकै ‘पच्चीस डेङ वि.स. २०६१ मा हेटौँडाबाट प्रकाशित भएको थियो ।
अमृत समान पाँच एकाङ्कीको सङ्कलन ‘पंचामृत’लाई वैशालीमा बज्जिका प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष इन्द्रजीत सहनी, अनलाइनमा बज्जिका साहित्य शृङ्खलाका सञ्चालक साहित्यकार सञ्जय महतो राज, शिवचन्द्र प्रसाद साह, रुपेश रोदन र कृतिकार मित्रले एकसाथ लोकार्पण गरेका हुन् ।
बज्जिका भाषाको जन्मस्थल मानिने वैशालीमा नेपालका कुनै कृतिकारको कृति लोकार्पण भएको यो पहिलो हो । तथ्याङ्क अनुसार, बज्जिका भाषा नेपालको मधेश प्रदेश र भारतको सीमावर्ती बिहारमा बोलिन्छ ।
