राष्ट्रसंघ महासभामा नेपालका प्रधानमन्त्री शाह सहभागी हुने

तु खबर संवाददाता
२०८३ भाद्र २३, मंगलवार ०९:१७
तस्बिर : गिरिजा अधिकारी । न्युयोर्क

न्यूयोर्क। संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने भएका छन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वको टोली सहभागी हुने निर्णय गरिएकोमा रसुवा बाढीपछि प्रधानमन्त्री शाहकै नेतृत्वको टोलीले महासभामा भाग लिने निर्णय भएको हो।

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने र उचित क्षतिपूर्तिको लागि पहल गर्न प्रधानमन्त्री शाह नै सहभागी हुनुपर्ने आवाज उठेपछि उनकै नेतृत्वमा महासभामा सहभागी हुने तय भएको हो। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभामा सम्बोधन गर्ने तय भएको बताइएको छ। पन्ध्र सदस्यीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क आउने तय भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खनालसहितको टोली न्यूयोर्क आउने छ। यसबाहेक प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार पनि सहभागी हुने तय भएको छ।

रसुवामा आएको बाढी र त्यसले निम्त्याएको विनाशको मुख्य कारण नेपाल नभई शक्ति राष्ट्रहरूले जलवायु परिवर्तनमा पारेका प्रभावका कारण भएकोले त्यसको क्षतिपूर्ति नेपालले पाउनुपर्ने माग उठिरहेको छ। यही मागलाई महासभामार्फत उठान गर्न प्रधानमन्त्री शाहको नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघ आउन लागेको हो।