रास्वपा सभापति लामिछानेले बोलाए संसदीय दलको बैठक

तु खबर संवाददाता
२०८३ भाद्र ३, बुधबार १०:३४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्न संसदीय दलको बैठक बोलाएका छन्।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा पार्टीका सबै सांसद तथा मन्त्रीलाई उपस्थित हुन भनिएको छ।

रास्वपाकी केन्द्रीय सदस्य लिमा अधिकारीका अनुसार संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति तथा उपस्थिति प्रभावकारी बनाउन र मन्त्री तथा सांसदबीच बढ्दै गएको दूरीका विषयमा छलफल हुनेछ।

रास्वपाका एक पदाधिकारीसमेत रहेका सांसदका अनुसार सभापति लामिछानेले संसद्मा सांसदहरूको प्रस्तुति, नियमित उपस्थिति र पार्टीको संसदीय भूमिकाका विषयमा आवश्यक निर्देशन दिनेछन्।

बैठकमा पार्टीका सांसद तथा मन्त्रीहरूलाई मर्यादाको विषयमा समेत सभापति लामिछानेले ध्यानाकर्षण गराउने बताइएको छ। साथै सरकारको कामलाई प्रभावकारी बनाउने तथा संसद्मा पार्टीको भूमिका थप सशक्त बनाउने विषयमा पनि छलफल हुने जनाइएको छ।

सामान्यतः संसदीय दलको बैठक बोलाउने जिम्मेवारी संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भए पनि पछिल्लो समय उनी संसदीय दलको बैठकमा नियमित सहभागी नभएको रास्वपाका नेताहरू बताउँछन्। आजको बैठकमा पनि प्रधानमन्त्री शाह सहभागी हुने सम्भावना कम रहेको उनीहरूको भनाइ छ।

यसैबीच सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई यही भदौ १० गते सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रतिनिधिसभामा उपस्थित हुन समय दिएका छन्।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि बस्न लागेको रास्वपा संसदीय दलको बैठकलाई पार्टीको संसदीय गतिविधि तथा सरकार सञ्चालनमा देखिएका विषयमा आन्तरिक समन्वय बढाउने प्रयासका रूपमा हेरिएको छ।