द्वन्द्व र भूराजनीतिक तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको चिन्ता

तु खबर संवाददाता
२०८३ असार १२, शुक्रबार ०७:३२
फाइल तस्बिरः मार्क गार्टेन / संयुक्त राष्ट्रसंघ

न्युयोर्क ।। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वभर तीव्र रूपमा बढ्दै गएको द्वन्द्व र भूराजनीतिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दिगो शान्ति स्थापनाका लागि विश्वव्यापी प्रतिबद्धता नवीकरण गर्न अपिल गरेका छन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित शान्ति स्थापना आयोगको वार्षिक सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले यस्तो आह्वान गरेका हुन् ।

महासचिव गुटेर्रेसले हाल विश्वले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बढी द्वन्द्व र संकट सामना गरिरहेको उल्लेख गरे । भू-राजनीतिक तनाव, गहिरिँदो असमानता, जलवायु परिवर्तनका तीव्र धक्का र बिनाकुनै सुरक्षा घेरा अघि बढिरहेका नयाँ प्रविधिहरूले विश्वमा नयाँ चुनौती थपेको उनको भनाइ छ ।

यी चुनौतीपूर्ण परिस्थितिहरूका कारण आजको समयमा शान्ति स्थापनाको धैर्यतापूर्ण र निरन्तर कार्य पहिलेभन्दा अझ बढी आवश्यक र महत्त्वपूर्ण बनेको कुरामा उनको जोड छ ।

विगत दुई दशकमा आयोगले गरेका सफल कार्यहरूको चर्चा गर्दै उहाँले कोलम्बियामा स्थानीय आवश्यकता पहिचान गरी महिला तथा युवाहरूको सहभागिता बढाउन सफल भएको स्मरण महासचिवले गरेका छन् । त्यस्तै, साहेल क्षेत्रमा सीमापार सहकार्य र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ३० वर्षपछि पहिलो पटक स्थानीय निर्वाचन गराउन आयोगले भूमिका खेलेको उनले स्मरण गरे ।

लाइबेरियामा संयुक्त राष्ट्र संघको शान्ति सेना फिर्ता भएपछि पनि राष्ट्रिय स्वामित्वको शान्ति रणनीति बनाउन र सबै सरोकारवालाहरूलाई एकजुट गराउन आयोगले महत्त्वपूर्ण योगदान दिएको उनको भनाइ थियो ।

महासचिवका अनुसार शान्ति स्थापना कोषले जोखिम मोलेरै भए पनि विश्वका ७० भन्दा बढी देशहरूमा दिगो शान्तिका लागि लगानी गरेको छ। राजनीति, वित्त र विकासका क्षेत्रहरूलाई सँगै ल्याउन सक्नु नै यस आयोगको सबैभन्दा ठूलो सबल पक्ष रहेको उनले बताए ।

यस प्रकारको आपसी समन्वयले गर्दा नै युद्धग्रस्त क्षेत्रका नागरिकहरूका लागि सेवाहरूको पुनरुत्थान, जीविकोपार्जनको पुनर्निर्माण, न्यायको सुदृढीकरण र खस्किएको विश्वासलाई पुनः जगाउन सम्भव भएको गुटेर्रेसले बताए ।

भविष्यका लागि सम्झौता अनुरुप आयोगले मौरिटानियादेखि साओ टोमे र प्रिन्सिपे जस्ता देशहरूलाई आफ्नै राष्ट्रिय रोकथाम रणनीति बनाउन सहयोग गरिरहेको छ। गत वर्ष पारित भएको शान्ति स्थापना संरचना समीक्षा प्रस्तावले नागरिक समाज, क्षेत्रीय संगठन र निजी क्षेत्रसँगको साझेदारीलाई अझ सुदृढ बनाउने मार्गचित्र प्रदान गरेको छ।

सम्बोधनको अन्त्यमा महासचिव गुटेर्रेसले सम्पूर्ण सदस्य राष्ट्रहरूलाई एकजुट हुन र अन्तर्राष्ट्रिय कानुन, दिगो विकास एवं मानव अधिकारप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्न अपिल समेत गरेका छन् ।