सरकारद्वारा सहसचिवहरूको सरुवा तथा काज व्यवस्थापन

तु खबर संवाददाता
२०८३ बैशाख ११, शुक्रबार १९:१०
तस्बिरः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नेपाल

सरकारले निजामती प्रशासनका सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका अधिकारीहरूलाई विशेष गरी प्रदेश सचिवको रूपमा विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरूमा खटाइएको छ।

निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत सहसचिवहरू विष्णु प्रसाद कोइराला र रामकृष्ण अधिकारीलाई कोसी प्रदेशको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। त्यसैगरी, मधेश प्रदेशका लागि अर्थ मन्त्रालयका प्रेमलाल पोखरेल र महेश बराल, सङ्घीय मामिलाका पार्वती शर्मा, शहरी विकासका ओम राज ढुङ्गाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका होमनाथ पौडेललाई प्रदेश सचिवको रूपमा कामकाज गर्न खटाइएको छ।

वाग्मती प्रदेशको प्रदेश सचिवको जिम्मेवारीमा गृह मन्त्रालयका उमेश कुमार ढकाल, अर्थका महेश भट्टराई, शिक्षा मन्त्रालयकी अनिता निरौला र शहरी विकासका नारायण प्रसाद मैनालीलाई पठाइएको छ। यस्तै, शहरी विकास मन्त्रालयका नवराज शर्मा र कृषि मन्त्रालयकी प्रेरणा चेडाँई भट्टराईलाई गण्डकी प्रदेशमा खटाइएको छ। लुम्बिनी प्रदेशका लागि भने कृषि मन्त्रालयकी जानुका पण्डितलाई प्रदेश सचिवको जिम्मेवारी तोकिएको छ।

यसअघि गण्डकी प्रदेशमा प्रदेश सचिवको रूपमा कार्यरत कमल कुमार अधिकारीलाई भने शहरी विकास मन्त्रालयको सहसचिव पदमा सरुवा गरिएको छ। अधिकांश अधिकारीहरूलाई कामकाज गर्ने गरी खटाइएको भए पनि केहीको भने नियमित सरुवा गरिएको सूचीमा उल्लेख छ।