बागमतीमा ७ वटा मन्त्रालय कायम गर्ने कांग्रेस संसदीय दलको निर्णय

तु खबर संवाददाता
२०८२ चैत्र १८, बुधबार ०५:२५

बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रदेशमा मन्त्रालयहरुको संख्यालाई आधाले घटाउने निर्णय गरेको छ ।

अहिले १४ वटा रहेको मन्त्रालयलाई घटाएर सात वटामा झार्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । मुख्यमन्त्रीसहित सात वटा मन्त्रालय कायम गर्ने निर्णय गरिएको हो ।

मुख्यमन्त्री एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सात पाँच वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । यस अघि सात वटा निर्देशनालयहरु थिए ।

प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले पनि यस अघि प्रतिवेदन बुझाउँदै मुख्यमन्त्रालय सहित ८ वटा मन्त्रालय रहँदा उपयुक्त हुने सुझाव दिएको थियो ।

सरकारका पूर्वसचिव विमल वाग्ले संयोजक, रेश्मीराज पाण्डे, गोपीकृष्ण खनाल, जिवनप्रभा लामा सदस्य र प्रदेश सचिव पूर्णबहादुर दर्जी सदस्यसचिव रहेको गरी विज्ञ टोलीले प्रदेश सरकारलाई निर्देशनालय, बोर्डलगायतका संरचना आवश्यक नरहेको र ७०१ कर्मचारी दरबन्दी कटौती गर्न सुझाव दिएको थियो ।