ओली र लेखक पक्राउको विरोधमा देशका मुख्य सहरहरूमा प्रदर्शन

तु खबर संवाददाता
२०८२ चैत्र १४, शनिबार १९:३३

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि नेकपा (एमाले) ले काठमाडौँमा प्रदर्शन गरेको छ। पक्राउको विरोधमा एमालेले काठमाडौँ लगायत देशभरका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेका बेला एमाले कार्यकर्ताहरूले काठमाडौँको चावहिल, नयाँ बानेश्वर तथा देशका अन्य मुख्य सहरहरूमा पक्राउको विरोधमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको बताएका छन्। सरकारको निर्देशनमा प्रहरीले शनिबार बिहान मात्रै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।

पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए। जेन-जी आन्दोलन दबाएको कारण ओली र लेखकलगायतलाई कारबाही गर्न कार्की आयोगले सिफारिस गरेको र सोही प्रतिवेदनको आधारमा उनीहरूलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीको भनाइ छ।