कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
जेन जी आन्दोलनपछि सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
जेन जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो ।
जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने सरकारको निर्णय छ । सो निर्णयको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पुष्टि गरेका छन् ।
आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयनका लागि गृह मन्त्रालयलाई निर्देशन दिने मन्त्रिपरिषद्को निर्णय छ ।
कार्की नेतृत्वको सो आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, तत्कालिन आइजीपी चन्द्र कुबेर खापुङ लगायतका व्यक्तिहरुलाई कारवाही गर्न सुझाव दिएको थियो ।
