आज नेपालले पाउँदैछ नयाँ प्रधानमन्त्री, शपथ १२:३४ मा
काठमाडौं -नेपालले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्री पदको शपथ लिँदैछन्।राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२:३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ।नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो। शपथ ग्रहणपछि शाहले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।
शपथ समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। समारोहलाई विशेष बनाउन ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने तयारी गरिएको छ।प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ ग्रहण गराइने बुझिएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै बहुमत प्राप्त गरेको थियो। सोही आधारमा बिहीबार शाहलाई संसदीय दलको नेता चयन गरिएको हो। झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित भएका शाहले नेतृत्वमा सरकार गठन गर्न लागेका हुन्।यसअघि बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका थिए।
