प्रतिनिधिसभा निर्वाचन: बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने
प्रतिनिधिसभाको निर्वाचन आज हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको र बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।
जेन जी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधिसभाको निर्वाचन आजको लागि तोकिएको थियो । राष्ट्रपतिले दिएको सोही म्याण्डेट अनुसार प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ३,४०६ उम्मेदवार ३,०१७ पुरुष, ३८८ महिला र १ अन्य० प्रतिस्पर्धामा छन्। समानुपातिकतर्फ ३,१३५ उम्मेदवार चुनावी मैदानमा छन्। देशभर १०,९६७ मतदानस्थलमा २३,११२ मतदान केन्द्रहरू निर्धारण गरिएको छ।
सरकारले निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको जानकारी दिएको छ । निर्वाचनलाई स्वच्छ र भयरहीत बनाउन सरकारका तर्फबाट सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ । यस पटकको निर्वाचनमा नेपाली सेनालाई पनि परिचालन गरिएको छ ।
कावा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसित गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो आयोगमा भेट गरी सबै सुरक्षा व्यवस्था मजबुद बनाइएको जानकारी दिएका छन् ।
