इकोसक अध्यक्ष थापासहितका प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

गिरिजा अधिकारी
२०८२ माघ १५, बिहीबार ०८:४७
फोटो क्रडिटः संयुक्त राष्ट्रसंघ/म्यानुअल इलियास

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र आर्थिक तथा सामाजिक परिषद् (इकोसक) ब्यूरोका सदस्यहरूबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवम् इकोसक अध्यक्ष थापाको नेतृत्वमा गुटेरेससँग भेटघाट भएको हो ।

सो अवसरमा महासचिव गुटेरेस र ब्यूरो सदस्यहरूबीच परिषद्ले गरिरहेका कार्यहरू र भविष्यका योजनाहरूबारे गहन छलफल भएको अध्यक्ष थापाले बताए । भेटका क्रममा विश्वमा बढ्दो चुनौतीहरूका बीच बहुपक्षीयतालाई मजबुत बनाउन परिषद्ले निर्वाह गर्नुपर्ने नेतृत्वदायी भूमिकाबारे चर्चा गरिएको थियो।

आगामी दिनमा दिगो विकासका लक्ष्यहरू हासिल गर्न र विश्वव्यापी आर्थिक-सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्न इकोसकलाई थप बलियो बनाउने र संयुक्त राष्ट्रसंघीय विकास प्रणालीलाई प्रभावकारी बनाउने विषयमा  छलफल भएको अध्यक्ष थापाले बताए ।

यस अघि हिजै साझेदारी मञ्च २०२६ आयोजना भएको थियो । त्यस अवसरमा इकोसक अध्यक्ष थापाले विश्वका झन्डै ८० करोड मानिस अझै पनि चरम गरिबीमा बाँचिरहेका र प्राकृतिक प्रकोप र द्वन्द्वले भौतिक संरचनाहरू ध्वस्त बनाउनुका साथै देशहरूबीचको असमानता बढाइरहेको बताएका थिए । थापाले भनेका थिए सीमित स्रोतहरूको अधिकतम उपयोग गरी प्रभावकारी नतिजा निकाल्नु आवश्यक छ ।

अध्यक्ष थापाले ‘अझ राम्रो परिणाम दिने’ भन्ने मूल नारालाई अघि सार्दै यसको अर्थ केवल प्रतिबद्धता व्यक्त गर्नु मात्र नभई त्यसलाई वास्तविक नतिजामा बदल्नु र जोखिममा रहेका समुदायहरूको विश्वास जित्नु रहेको समेत बताएका थिए ।

मञ्चमा प्राप्त भएका सुझाव र विचारहरूले आगामी उच्च-स्तरीय राजनीतिक मञ्च, वित्त विकास मञ्च र सन् २०२६ को विश्व जल सम्मेलन जस्ता महत्त्वपूर्ण प्रक्रियाहरूलाई मार्गदर्शन गर्नेछ ।

मञ्चको बैठककै बीचमा थापाको टिमले महासचिव गुटेरेसलाई भेटेको हो ।