भाषण होइन, काम गरेर देखाउँछु : जनकपुरमा बालेन शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी घोषणा सभालाई सम्बोधन गर्दै बालेनले जनतासँग काम गर्ने अवसर मागेका हुन्।
सभामा बोल्दै उनले भने, ‘म काम गर्ने मान्छे हुँ, भाषण होइन। काम गरेको हेर्न चाहनुहुन्छ ? काठमाडौंका जनताले मेरो काम देखिसकेका छन्। अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?’ काठमाडौं महानगरपालिकाको मेयरका रूपमा काम गरेर देखाएको उल्लेख गर्दै उनले महानगरको जिम्मेवारी छाडेर देशकै लागि काम गर्न आएको बताए।
बालेनले मधेसी समुदायको नाममा भावनात्मक मत नदिन आग्रह गर्दै सही मान्छे र सही सरकार निर्माणका लागि मतदान गर्न अपिल गरे। ‘मधेसीको छोरा प्रधानमन्त्री बन्न लागेको भनेर भोट दिनुस् भन्ने होइन, सही मान्छे आउँदैछन्, सही सरकार बन्दैछ भनेर घन्टीमा भोट हाल्नुस्, उनले भने।
आफ्नो पहिलो राजनीतिक सभामा मैथिली भाषामा सम्बोधन गर्दै बालेनले संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए। जनकपुर प्रदेशको राजधानी हुँदाहुँदै पनि अधिकार माग्न काठमाडौं जानुपर्ने अवस्थाप्रति प्रश्न उठाउँदै उनले भने, ‘काठमाडौँ अधिकार माग्न होइन, घुम्न जानुस्। अधिकार जनकपुरबाटै पाउनुपर्छ।’
मिटरव्याज पीडित र उखु किसानहरू आफ्ना माग लिएर काठमाडौं आउनुपरेको प्रसंग उल्लेख गर्दै बालेनले मेयरका रूपमा सबै समस्या समाधान गर्न नसकेको स्वीकार गरे। यही प्रवृत्ति अन्त्य गर्न आफू राष्ट्रिय राजनीतिमा आएको उनको भनाइ थियो।
बालेनले जनकपुरको धार्मिक र पर्यटकीय सम्भावनामा पनि जोड दिए। राम-सीताको विवाह भएको पवित्र भूमिलाई ‘डेस्टिनेसन वेडिङ’ को केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले जयपुर र बाली जाने प्रवृत्तिभन्दा जनकपुरलाई नै गन्तव्य बनाउनुपर्ने बताए। अयोध्यामा वार्षिक १० लाख पर्यटक जाने गरेको उदाहरण दिँदै उनले जनकपुरमा वर्षको १ करोड पर्यटक ल्याउन सकिने सम्भावना रहेको दाबी गरे।
प्रदेश नीतिबारे उठ्ने आलोचनाको जवाफ दिँदै बालेनले रास्वपाले प्रदेशलाई अझ बलियो बनाउने नीति लिएको स्पष्ट पारे। ‘प्रदेशको काम घरघरमा धारा जोड्ने मात्र होइन, अधिकार र स्रोतको सही व्यवस्थापन हो, उनले भने।
काठमाडौँ महानगरपालिकाले वार्षिक २० हजार विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराइरहेको उदाहरण प्रस्तुत गर्दै बालेनले त्यसलाई व्यवहारिक समाजवादको नमूना बताए। यस्तै अभ्यास सबै प्रदेश र पालिकामा आवश्यक रहेको उनको भनाइ थियो।
मेयरका रूपमा काम गर्दा भाषण गर्न समय नपाएको उल्लेख गर्दै बालेनले राजीनामा दिएपछि पहिलो पटक राजनीतिक भाषण गरेको बताए। ‘म भाषणमा होइन, काममा विश्वास गर्छु। तपाईंहरूले काम दिनुस्, म काम गरेर देखाउँछु,’ भन्दै उनले जनतासँग विश्वास र जिम्मेवारी मागे।
