मेयर बालेनले आजै राजीनामा दिई, रास्वपा केन्द्रीय समितिमा सहभागी हुने

तु खबर संवाददाता
२०८२ माघ ४, आईतवार १०:४८

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले आजै आफ्नो पदबाट राजीनामा दिने भएका छन्। राजीनामापछि उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने उद्देश्यले रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्न लागेको हो। दिउँसो २ बजेका लागि बैठक बोलाइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

यसअघि रास्वपाले ८ जना उम्मेदवारको टुंगो लगाइसकेको छ। आजको बैठकमा काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर वरिष्ठ नेता बालेन पनि सहभागी हुने महामन्त्री बुर्लाकोटीले बताएका छन्।

२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा-५ बाट उम्मेदवारी दिने चर्चा चलिरहेको छ। केन्द्रीय समिति बैठकपछि रास्वपा सभापति रवि लामिछानेसँगै बालेन भोलि जनकपुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रमसमेत तय भइसकेको छ।