पद, शक्ति र नामको द्वन्द्वले भाँडियो रास्वपा-उज्यालो नेपाल एकता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच भएको बहुप्रतीक्षित एकता अन्ततः पद, शक्ति सन्तुलन र पार्टी नामसम्बन्धी अडानका कारण भाँडिएको छ। पुस १४ गते भएको ७ बुँदे सहमति १२ दिनमै निष्क्रिय बन्दा ‘नयाँ राजनीति’ को दाबी गर्ने दलहरूबीचको अविश्वास सतहमा आएको छ।
रास्वपाका सभापति रवि लामिछानेले आकस्मिक सचिवालय बैठकमा ब्रिफिङ गर्दै उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले दिनदिनै नयाँ-नयाँ माग अघि सारेकाले एकतालाई निरन्तरता दिन नसकिएको बताएका छन्। वरिष्ठ उपसभापति, थप महामन्त्री, सचिवालय सदस्य, निर्वाचन क्षेत्रको बाँडफाँटदेखि पार्टीको नाम परिवर्तनसम्मका प्रस्ताव आएपछि सहकार्य सम्भव नरहेको निष्कर्षमा पुगेको रास्वपाको भनाइ छ।
लामिछानेका अनुसार, प्रारम्भिक सहमतिभन्दा बाहिर गएर पदको बार्गेनिङ तीव्र बन्दै जाँदा राजनीतिक विश्वास कमजोर बन्यो। एउटा माग पूरा गर्दा भोलिपल्ट अर्को माग आउने क्रम रोकिएन, भन्दै उनले शक्ति-केन्द्रित राजनीतिले सहकार्यलाई अवरुद्ध गरेको संकेत गरे।
उता उज्यालो नेपाल पार्टीका नेताहरू भने एकता भाँडिनुको मूल कारण वैचारिक अस्पष्टता रहेको दाबी गर्छन्। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताजस्ता मुद्दामा रास्वपा स्पष्ट नहुँदा एउटै पार्टीमा अघि बढ्न नसकिएको उनीहरूको तर्क छ। कुलमाननिकट नेताहरूले पदका विषय गौण भएको र मूल्य-राजनीति नै मुख्य कारण भएको बताएका छन्।
एकता प्रक्रिया भाँडिएसँगै उज्यालो नेपाल पार्टीले केन्द्रीय समिति बैठकमार्फत कुलमान घिसिङलाई अध्यक्ष घोषणा गरेको छ। तर पार्टीभित्रै करिब आधा केन्द्रीय सदस्य एकताको पक्षमा उभिएको संकेत देखिँदा उज्यालो नेपाल आन्तरिक रूपमा पनि विभाजित देखिन्छ। कतिपय नेताहरू रास्वपामै रहने अडानमा छन्।
जेन-जी आन्दोलनपछि बालेन शाह, कुलमान घिसिङ र रवि लामिछाने एउटै राजनीतिक प्लेटफर्ममा ल्याउने प्रयास भए पनि पद र शक्ति सन्तुलनको प्रश्नले त्यो सम्भावना समाप्त भएको सङ्केत गरेको छ। नयाँ राजनीतिक शक्तिहरूबीच नै पुरानै शैलीको भागबण्डा र शक्ति संघर्ष दोहोरिनुले ‘वैकल्पिक राजनीति’को विश्वसनीयतामाथि प्रश्न उठाएको छ।
रास्वपा र उज्यालो नेपाल अब आ-आफ्नै बाटोमा अघि बढ्ने तयारीमा छन्। तर यो एकता विफलताले नेपाली राजनीतिमा नयाँ शक्तिहरूबीच सहकार्य कति चुनौतीपूर्ण छ भन्ने यथार्थलाई पुनः दर्शाएको छ गरेको छ।
