राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा ओली-प्रचण्ड भेट

तु खबर संवाददाता
२०८२ पुष २०, आईतवार १३:१०
file photo

काठमाडौं । नजिकिँदै गरेको राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रमा राख्दै प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेलको प्रयास तीव्र बनेको छ। यही सिलसिलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ।

ललितपुरको च्यासलस्थित एक घरमा करिब २५ मिनेट एक्लाएक्लै भएको भेटमा समसामयिक राजनीतिक अवस्था, चुनावी वातावरण र राष्ट्रिय सभा तथा प्रतिनिधिसभा निर्वाचनमा सम्भावित तालमेलका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। यद्यपि छलफलबाट ठोस सहमति भए-नभएकोबारे भने सार्वजनिक गरिएको छैन।

प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार दुई नेताबीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सम्भावनासहित समग्र चुनावी रणनीतिबारे कुराकानी भएको हो। प्रचण्ड आइतबार साँझ भारतको राजधानी नयाँदिल्ली जाने कार्यक्रम तय भएकाले त्यसअगाडि ओलीसँग भेटवार्ता गरेका हुन्।

यसअघि पनि ओली-प्रचण्ड भेटको तयारी भए पनि प्रचण्ड काठमाडौं बाहिर रहेकाले शनिबार भेट हुन नसकेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको बताए। उनले तालमेलका विषयमा कुराकानी भए पनि अझै टुंगो नलागेको स्पष्ट पारे। प्रमुख तीन दल मिलेर चुनाव लड्ने सम्भावनाबारे प्रश्न गर्दा उनले कांग्रेसको तर्फबाट प्रस्ताव आएको पनि बताए।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सदस्य हुन्, जसलाई सरकारको सिफारिसमा पुनः राष्ट्रपतिबाटै मनोनयन गरिने व्यवस्था छ।

यता, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई समेत ध्यानमा राख्दै दलहरूबीच आन्तरिक तथा अन्तरदल छलफल तीव्र बनेको छ। ओली र प्रचण्डबीचको भेटलाई यही चुनावी समीकरणको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।