वैकल्पिक राजनीतिक शक्तिको खोजीमा बालेन-रवि-कुलमान सक्रिय

तु खबर संवाददाता
२०८२ पुष १०, बिहीबार १३:०७

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि विभिन्न दलका नेता, अभियन्ता र प्रभावशाली व्यक्तिहरूबीच तीव्र छलफल सुरु भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ऊर्जा मन्त्री कुलमान घिसिङबीच पछिल्ला दिनमा निरन्तर भेटवार्ता भइरहेको छ।

ललितपुरको कुपण्डोल र ज्वागल क्षेत्रस्थित बालेनका सहयोगी कुमार व्यजनकार (कुमार बेन)को निवासमा भएको छलफलमा कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ, अभियन्ता सागर ढकाल, असिम शाह, गणेश कार्कीलगायत सहभागी भएका छन्। बुधबार रातिसम्म चलेको छलफलमा विभिन्न राजनीतिक दलका नेता, पूर्वकर्मचारी, कलाकार र पत्रकारको उपस्थिति रहेको स्रोतले जनाएको छ।

मेयर बालेनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक दल सक्रिय बनाउने तयारीस्वरूप गतिविधि बढाएका छन्। सोही क्रममा उनले यसअघि निर्वाचन आयोगमा दर्ता भइसकेको देश विकास पार्टी र चुनाव चिह्न लौरो प्रयोग गरेर अघि बढ्ने योजना सहभागीहरूसँग साझा गरेका थिए। उक्त पार्टीका अध्यक्ष सन्ध्या खनाल हुन् भने २०७९ को स्थानीय तह निर्वाचनमा यही चिह्नबाट बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।

ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि बालेनको छलफल तीव्र बनेको छ। उज्यालो नेपाल पार्टीका संरक्षक रहेका घिसिङ र बालेनबीच आगामी चुनावमा देश विकास पार्टीबाटै अघि बढ्ने लगभग टुंगो लागेको उनीहरू निकट स्रोतले बताएका छन्। सोहीअनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ११० क्षेत्रका उम्मेदवार तय गरी पुस १३ र १४ गते निर्वाचन आयोगमा सूची बुझाउने तयारी भइरहेको जनाइएको छ।

यसअघि सोमबार राति कमलपोखरीमा बालेन र रास्वपा सभापति रवि लामिछानेबीच करिब ६ घन्टा लामो छलफल भएको थियो। उक्त छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने प्रस्ताव आएको भए पनि ठोस सहमति भने हुन नसकेको स्रोतले बताएको छ। अर्को निर्वाचनपछि सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोग गर्ने प्रस्तावमा भने सकारात्मक छलफल भएको जनाइएको छ।

बालेनले रास्वपाबाहेक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत, अमरेशकुमार सिंहलगायतसँग पनि संवाद गरेका छन्। साथै जेनजी अभियन्ता रक्षा बम, सागर ढकाललगायत नयाँ पुस्ताका अभियन्तालाई समेटेर अघि बढ्ने तयारी भइरहेको बताइएको छ।

घिसिङसँग भेटपछि बालेन पुनः रवि लामिछानेसँग छलफलमा जुटेका छन्। दुवैबीच सहकार्य गर्ने वा आ-आफ्नै बाटो समात्ने भन्ने विषय यस भेटबाट टुंगो लाग्ने निकट स्रोतले जनाएको छ। वैकल्पिक शक्ति मिलेर अघि बढ्ने गरी भइरहेको छलफल केही दिनमै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।