एनपीएलमा आज दुई खेल, विराटनगरको निर्णायक परीक्षा

तु खबर संवाददाता
२०८२ मंसिर २०, शनिबार ०८:२९

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन् भने दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने तालिका छ।

पहिलो खेलमा सुदूरपश्चिम रोयल्स दबाबमुक्त अवस्थामा मैदान उत्रनेछ। अपराजित रहँदै खेलबाट १२ अंक जोडेको सुदूरपश्चिमले पहिले नै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ। आठ अंकसहित प्लेअफमा पुगिसकेको विराटनगर किङ्ग्सलाई भने आजको खेल निकै महत्त्वपूर्ण छ। विराटनगरले राम्रो रनरेटसहित जित निकाल्न सके सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ, अन्यथा लुम्बिनी लायन्ससँग इलिमिनेटरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।

दिउँसो हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिष्ठाको लडाइँ हुनेछ। दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेका छन्। प्रतियोगितामा अन्तिम खेल खेल्न लागेका चितवन र पोखराले समान छ खेलबाट चार-चार अंक मात्रै जोड्न सकेका छन्। त्यसैले यो खेल प्लेअफको हिसाबले प्रभाव नपरे पनि सम्मानजनक जित निकाल्ने लक्ष्यसाथ दुवै टोली मैदानमा उत्रनेछन्।

लिग चरणको अन्त्यतर्फ आइपुगेको एनपीएलमा आजका खेलहरूले क्वालिफायर र इलिमिनेटरका समीकरण थप स्पष्ट बनाउनेछन्।