‘अनुत्तरित प्रश्न’मा कथाकार समीर पाख्रिन

सञ्जय साह मित्र
२०८२ कार्तिक २१, शुक्रबार ०७:३३

कथा धेरै लोकप्रिय विधा हो । अहिले पनि कथा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मन पर्ने साहित्यिक रचना हो । लोक कथा देखि धार्मिक तथा आधुनिक कथासम्म सबै किसिमको कथालाई उमेर, रुचि तथा शिक्षा र चेतनाको स्तर हेरेर मन पराएकै पाइएको छ । लोककथा, नैतिक कथा, उपदेश तथाअन्य दृष्टिकोणले विचार गर्ने हो भने कथा आफैँमा एक प्राचीन विधा पनि हो । कथाले आधुनिक स्वरुपधारण गरेको पनि विश्व साहित्यमा शताब्दीभन्दाबढी भइसकेको छ भने नेपाली साहित्यमा पनि करिब एक शताब्दी पुग्न थालेको छ । नेपाली कथाको क्षेत्रमा मोफसलको पनि निकै ठुलो योगदान रहेको छ ।

नेपाली साहित्यमा मकवानपुर आफैँमा चर्चित नाम हो । यहाँ विभिन्न विधाको साहित्यले फस्टाउने मौका पाएको छ । मकवानपुरमा नेपाली साहित्य फस्टाउनुले समग्र नेपाली साहित्यलाई ठुलो टेवा पुगिरहेको छ । प्रकाशक संस्थाको क्षेत्रमा मात्र पछाडि परेको मकवानपुरले नेपाली साहित्यको अन्य समग्र क्षेत्रमा दिइरहेको योगदान आफैँमा स्तुत्य रहेको छ । मकवानपुरे साहित्यमा योगदान दिइरहेका एक चर्चित सर्जक हुन् समीर पाख्रिन ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ सुन्दर टोलका बासिन्दा पाख्रिनको मुख्य विधा नाटक रहेको छ । पाख्रिन एक सिद्धहस्त लघुकथाकार पनि हुन् । वाङ्मयका विभिन्न विधामा कलम चलाउने र साहित्यलाई जीवन्त बनाउने अभियानमा समेत सक्रिय रहेका पाख्रिनका सिर्जनाहरु सरलताका साथै शिक्षामूलक पनि हुने गरेका छन् । पाख्रिनको पहिलो कथासङ्ग्रहको रूपमा प्रकाशित भएको छ – अनुत्तरित प्रश्न । २०८० माघमा प्रकाशित यस कथासङ्ग्रहबारे यहाँ सामान्य चर्चा गर्ने जमर्को गरिएको छ ।
सङ्ग्रहको पहिलो कथा ‘दोधार’ हो । लोक सेवाको तयारी र विदेश जाने तयारी गरिरहेका एक युवकले एकसाथ दुवै मौका अगाडि आएको पाउँछ । कुनै अवसर नभएको, दुई अवसरको लागि प्रयास गरेको र दुवै अवसर एकसाथ अगाडि आएपछि युवक दोधारमा परेको छ । दोधारको समापन उसले विदेश जाने मनसाय परित्याग गर्छ । कथा कौतुहलपूर्ण रहेको छ ।
सङ्ग्रहको दोस्रो कथा हो – ‘मेरो जन्मघर’ । धेरै पात्र भएको र पूर्वदिप्तीको उपयोग गरिएको यस कथाको प्रमुख पात्रले धेरै समयपछि आफू जन्मेको घर चिनेको छ । पिताको जागिरको क्रममा पोस्टिङ भएको ठाउँमा जन्मेको र धेरै वर्षपछि उक्त स्थानमा पुगेपछि एकजनाबाट सबै कुरा सुनेको र बुझेको पात्रले पत्नीको इच्छानुसार घर किन्दा सोही घरलाई किनेको बताइएको छ । उक्त घरलाई अभिशप्त घरको रुपमा समाजले हेरेको तर सार्वजनिक पुस्तकालयको उद्घाटन गरिएको छ । म पात्रले आफ्नो जन्मघरको संरक्षण गरेको बताइएको छ ।
कथासङ्ग्रहको नामसमेत रहेको कथा हो – अनुत्तरित प्रश्न । पारिवारिक कलह र सम्बन्धविच्छेदको कारण उब्जिरहेको समस्यालाई कलानाथको पारिवारिक जीवनको यथार्थमार्फत देखाइएको छ । कलानाथको छोरा सुबासको मनमा उब्जिएका प्रश्नहरुको उत्तर उसले पाउन सकेको छैन । अनुत्तरित बनेर रहेका छन् ।
साहित्यकार श्रीधरको कृति विमोचनमा एक समीक्षकले आलोचना गरेपछिअत्यन्तै निराश बनेका हुन्छन् । साहित्यप्रति लगाव, लगन तथा लगानी सबै हुँदाहुँदै पनि विक्षिप्त बनेर झन्डै विमुख भएका श्रीधरलाई सोही कृतिवापत देशको ठुलो साहित्यिक पुरस्कार प्राप्त हुन्छ । घरपरिवारमा पनि सन्तोषको लहर छाउँछ । यो संयोगान्तमा टुङ्गिएको कथा हो । धेरै साहित्यकारले भोग्नुपर्ने पीडालाई केही अतिरञ्जनासहित प्रस्तुत गरिएको कथा हो – हाँस्दाहाँस्दै ।
बदर मत – चुनावको विकृतिलाई चित्रण गरिएको कथा हो । एक मतदातालाई प्रभावित पार्न दुई उम्मेदवारले सामान दिएका छन् । सामान लिएपछिचुनावको दिन मतपत्रमा दुवै उम्मेदवारको चुनाव चिन्हमा मतदाताले इमानदारीपूर्वक नुनको सोझो गरेको छ । दुई चिन्हमा छाप हानेपछिउसको मत बदर भएको छ ।
छोरो पाउन नसक्दा सिर्जनाले भोग्नु परेको दुर्दान्त पीडाको चित्रण हो – मिलापत्र । एकपछि अर्को र तेस्रो सन्तान पनि छोरी नै जन्माएपछि सिर्जनाले पति, सासू र ससुरोबाट चरम यातना पाउँछिन् । एक दिन आत्महत्या गर्न वनमा पस्दा वनपालेले आत्म हत्या गर्न दिँदैनन् । सिर्जनाले दुःख बिसाउने ठाउँ नपाएको र मनोविज्ञानमा समेत गहिरो छाप परेको अवस्थामा एउटा पुनर्वास केन्द्रमा शरण पाउँछिन् । त्यहाँ केही समय बसेर आफ्नो हकको कुरो सिक्छिन् र निकायमा पुग्छिन् । त्यहाँ बाध्य भएर उनको परिवारले पुनर्मिलनको बाटो अपनाउँछ । यसरी सुखान्तमा टुङ्गिन्छ यो रैखिक शैलीमा लेखिएको कथा ।
जुगल साहु र पत्रकारबिच भएको प्रश्नोत्तर हो – अन्तर्वार्ता । जुगल साहुको सङ्घर्षको कथा प्रश्नोत्तरमै आएको छ । सबैतिरबाट सम्पूर्णतःनिराश भइसकेको जुगल मित बुबाले दिएको एउटा खसीलाई बेचेर सुरु गरेको बेपारले विस्तारै अपार सम्पत्ति आर्जन गरेको र काठमाडौँमा पनि ठुलै खसी बेपारीको सम्मान पाएको कथानक रहेको छ । साहुले सफलताको श्रेय मितबुबालाई नै दिएको प्रेरणादायी र मार्मिक कथा हो यो ।
घरबाट भारतको तीर्थाटनमा गएको र बाढीमा परी झन्डै मृत्युको मुखबाट एक माझी परिवारले निकालेको तथा पुरानो पेसा अनुसारको व्यवहार गर्दा त्यहाँको समाजमापनि परिचित र प्रतिष्ठित हुन पुगेको बताइएको एक वृद्ध दम्पतिलाई । त्यहाँबाट केही समयपछि घर फर्किदा चलनअनुसार घरका सदस्य, आफन्त सबै जनाले कुशको शव बनाएर दाह संस्कारको लागि शव यात्रा निकाल्ने तयारी गरिरहेको अवस्थामा वृद्ध दम्पत्ति पुगेको संयोगान्त र स्वैरकाल्पनिक कथा हो – झण्डै अनर्थ भएको ।
नयाँ युगको सङ्केत – विकास निर्माणको उद्घाटन कुनै नेता भन्दा स्थानीय समाजसेवीबाट गराउनु राम्रो हुन्छ भन्ने सन्देश दिने कथा हो । नेताहरु एक छिनको लागि आउँछन्, धेरै खर्च हुन्छ र तामझाम गरी फर्किन्छन् । उद्घाटन गरेको संस्थाको बारेमा फर्केर सोच्ने फुर्सद हुँदैन तर स्थानीय समाजसेवी, इमानदार व्यक्तित्व तथा परिश्रम लगानी गरेको बाट उद्घाट नगर्ने हो भने पछि सम्म पनि झन् प्रेम रहन्छ ।
राजनीतिको दाउपेच र राजनीतिरुपी सत्तामा सधैँ आफ्नै पहुँच कायम गर्न गरिने जाल झेलको प्रस्तुति हो – दुवै हातमा लड्डु । इमानदार र नैतिकवान युवक हिमांशुलाई उनका बुबा र स्थानीय एक नेताले सम्झौता गरी नेता बनाउने दाउ रच्छन् । नेताले आफ्नो विरोधमा चुनाव उठ्न लगाउन खर्च दिन्छन् र जितेपछिआफ्नो पार्टीमा प्रवेश गराउने उपाय रच्छन् । यस वापत हिमांशुले उसकी छोरी सित विवाह गर्नुपर्छ । यस किसिमको प्रस्ताव हिमांशुको बुवाले राख्दै उसको अगाडि आफ्ना कार्यकर्तालाई खुवाउन र चुनावको प्रचार गर्न नेताले दिएको पैसाको बिटो पनि राखिदिन्छन् । हिमांशु दुवै हातमा लड्डु देख्छ ।
आजको श्रवणकुमार – पौराणिक श्रवणकुमारजस्तै आदर्श छोराको सन्देश दिने कथा हो । बुहारीले छोरालाई बिगार्न खोजे पनि छोरो भने बुबाप्रतिअलिकति पनि दया होइन, सदा प्रेम, सम्मान र गर्वपूर्वक हेरेको र श्रीमतीलाई पनि आफ्नो विचारसित सहमत गराएको कथा हो । पिताको साहित्यिक अनुराग तथा प्रसिद्धिबाट प्रभावित छोरोले श्रीमतीलाई पनि उच्च सम्मानको लागि सहमत गराउँछ । एउटा ठुलो पुरस्कार ग्रहण गर्ने वेला पिताले बुहारीलाई पनि मञ्चमा बोलाउँदै प्रशंसा गर्दछन् ।
अति साधारणकर्मचारीले अवकाशपछि बैंकमा पैसाको एटिएमकार्ड पाएको र उक्त एटिएमको छोराछोरीले दुरुपयोग गरेको कारुणिक चित्रण रहेको कथा हो – एटिएमकार्ड । मदिरा सेवनगर्नु र प्रविधिसित परिचितनहुनु दुवै आधुनिक युगमा कमजोरी हुन सक्छन् भन्ने सन्देश यस कथाले दिएको छ ।
सरल कथाहरुको यो संग्रह पठनीय रहेको छ । यसले साहित्यकार समीर पाख्रिनको साहित्यिक आयामलाई विस्तार गरेको छ, साहित्यिक क्षेत्रमा एउटा नयाँ परिचय थप गरेको छ । यस सङ्ग्रहभित्रकाप्रायः सबै कथा पहिले नै प्रकाशित भइसकेका छन् । कथाकार पाख्रिनको कथा र समग्र साहित्यिक जीवनको अझ धेरै बढी सफलताको कामना गर्दछु ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ३७)